३–३ रुपैंयाले घट्यो डिजल, पेट्रोल र मट्टीतेलको मूल्य

३–३ रुपैंयाले घट्यो डिजल, पेट्रोल र मट्टीतेलको मूल्य

वीरगन्ज, २५ पुष । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन÷तीन रुपैयाँका दरले घटाएको छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमशः २० र ३० रुपैयाँले घटेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

योसँगै अब पेट्रोल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार चार सय २० डलर कायम भएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेको छ । यसअघि भारतले पेट्रोलियम पदार्थको मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएको भन्दै उपभोक्ताले विरोध गर्दै आएका थिए ।

गएको बिहीवार प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि निगमले भने हिजो मूल्य घटाएको हो ।