प्रदूषित पानी नदिमा बगाउने तीनवटा उद्योगलाई कारवाही गर्ने 

प्रदूषित पानी नदिमा बगाउने तीनवटा उद्योगलाई कारवाही गर्ने 

वीरगन्ज, २५ पुष । सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले उद्योगबाट निस्केको प्रदुषित पानी प्रशोधन नगरी नदीमा मिसाउने ३ वटा उद्योगलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । जितपुर सिमरा उपमहानगरपालिकाको सभाकक्षमा आईतबार बसेको समितिको बैठकले ३ वटा उद्योगलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

समितिले तीन पटकमा ९ वटा उद्योगको अनुगमन गरेको थियो । उद्योगमा पानी प्रशोधन केन्द्र नबनाई प्रदुषित पानी सोझै नदीमा खसाल्ने मरियम लेदर, मारुती पेपर र दुर्गा पल्प एण्ड पेपरलाई स्पष्टिकरण सोध्ने निर्णय भएको अनुगमन समितिका संयोजक एवं वीरगञ्जका उपमेयर इम्तियाज आलमले जानकारी दिनुभयो ।  

पानी प्रशोधन केन्द्र बनाएर पनि सञ्चालन नगर्ने उद्योगलाई पनि कारबाही गर्ने तयारी समितिले थालेको छ । कात्तिक २३ गते गठन भएको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिमा जितपुर सिमरा उपमहानगरपालिका, उद्योगी व्यवसायी, स्थानीय प्रशासनका प्रतिनीधि सदस्य छन् ।

नदीको क्षेत्रमा पर्ने परवानीपुर गाउँपालिकालाई पनि समितिमा समेटने हिजोको बैठकले निर्णय गरेको छ । यसैबीच बैठकले सिर्सिया नदीको आधार क्षेत्र (राइट अफ वे) छुट्याउन नापी कार्यालयको नेतृत्वमा तत्काल काम सुरु गर्ने निर्णय समेत गरेको छ ।

सिर्सिया नदी जितपुरसिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगर हुँदै भारततर्फ बग्ने गरेको छ । वीरगञ्ज र जीतपुर सिमरा दुवै पालिकाको सहकार्यमा नदीको क्षेत्र छुट्याउने र प्रदुषण नियन्त्रण गर्ने समितिका संयोजक उपमेयर इम्तियाजले जानकारी दिनुभयो ।

उद्योगीकै लापरबाहीले सिर्सिया नदी प्रदुषण भइरहेकाले उद्योगी सच्चिनुको विकल्प नभएको वीरगञ्जका मेयर राजेशमान सिंहले बताउनुभयो । जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रदुषण नियन्त्रणका लागि  कार्यविधि नै बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले सबैको साथ र सहयोगले मात्रै सिर्सिया नदी प्रदुषण मुक्त हुने भएकाले अनुगमन, कारबाहीसँगसँगै सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । बैठकमा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि उद्योगीलाई केहि समय दिन माग गरेका थिए ।