गुणस्तरहिन घ्यु बनाएको आरोपमा एकजना पक्राउ 

गुणस्तरहिन घ्यु बनाएको आरोपमा एकजना पक्राउ 

वीरगन्ज, २३ पुष । गुणस्तरहीन घ्यू बनाएर बिक्री गर्ने गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– १६ स्थित घरमा श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा समाग्री रिपैकिङ नामको उद्योग सञ्चालन गर्दै आएका सर्लाहीको विष्णु गाउँपालिका वडा नं ८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेश कुमार रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

राजेशले संञ्चालन गर्दै आएको उद्योगमा मिसावटयुक्त घ्यू तयार गरेर बेच्ने गरिएको सूचना पाएपछि प्रहरीले छापामारी गरेको थियो । उद्योगबाट प्रहरीले २० किलो तौलमा प्याकिङ गरिएको डाल्डा घ्यु २ हजार २ सय ६० लिटर, प्याकिङ गरिएको घ्यू ६ सय १३ लिटर समेत बरामद गरेको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

मिसावटयुक्त घ्यू बिक्री भईरहेको सूचनाको आधारमा छापमारी गरेर घ्यू सहित सञ्चालक राजेशलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । मिसावटयुक्त घ्यूको सम्बन्धमा नापतौल तथा गुणस्तर कार्यालय वीरगञ्ज तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।