मौलिक संस्कृतिको जगेर्ना गर्ने सन्देश सहित ज्ञानदा एकेडेमीको खेलकुद प्रतियोगिता सम्पन्न
वीरगन्ज, २२ पुष । वीरगन्जको ज्ञानदा एकेडेमीमा सातौं एकदीवसीय खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यतालिका अन्तर्गत ज्ञानदा एकेडमीले आफ्नै खेल मैदानमा सातौँ वार्षिक खेलकूद प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य वीणा जयसवालले उदघाटन गर्नुभएको थियो ।
प्रतियोगिताको उदघाटन गर्दै सांसद जयसवालले विद्यार्थीहरुको मानसिक विकास र बौद्धिक विकासका लागि खेलकुद आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुद प्रतियोगिताले बालबालिकाको क्षमताको विकासमा पनि सहयोग पुर्याउने भएकोले अभिभावकहरुले पनि बालबालिकालाई खेलकुदमा भाग लिनका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले विद्यालय बालबालिकाको भविष्य निर्माण गर्ने आधारस्तम्भ भएकोले राम्रा र सकारात्मक कुराहरु मात्रै सिक्ने सिकाउने र नकारात्मक कुराहरुले पार्ने असरहरुको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।
माध्यामिक तहका विद्यार्थीहरु गलत सँगतले गलत बाटोमा जान सक्ने जोखिमलाई नियन्त्रण गरी मानसिक र शारिरीक विकासका लागि खेलकुद महत्वपूर्ण रहेको बताउनुभयो । प्रतियोगितामा पिजिदेखि यु केजीसम्म र ११ र १२ कक्षामा कक्षास्तरीय प्रतिस्पर्धा भएको थियो । कक्षा १ देखि १० सम्म अन्तरसदन प्रतिस्पर्धा गराईएको थियो ।
प्राथमिक तह सम्मका छात्र–छात्राहरुका लागि हर्डल रेस, सटल रेस, एजिलिटी रेस, स्क्वायस रेस, लेगोरी रेस, चकलेट रेस, स्पुन रेस लगायतका खेलहरुमा विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगिताको शुरुवातमा मार्चपाससँगै नेपाली लोकसंस्कृति झल्किने झाँकीको पनि प्रदर्शन गरिएको थियो ।विद्यालयले विद्यार्थीहरुलाई नेपाली मौलिकताको बारेमा जानकारी गराउनका लागि पनि बहुभाषिक, बहुधार्मिक, बहुजातीय समुदायको आपसी सदभावलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने सांस्कृतिक रितीरिवाजको प्रदर्शन गरिएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले बताउनुभयो ।
प्रतियोगिता शुरु हुनु अघि अन्नपूर्ण, माछापूच्छ्रे, धौलागिरी र सगरमाथा सदनका विद्यार्थीहरुले विभिन्न किसिमका भेषभुषासँगै रहनसहन र संस्कृति झल्किने झाँकीसहित मार्च पास गरेका थिए । माघे सक्रान्ति नजिकिदै गर्दा विद्यार्थीहरुले थारु संस्कृतिको भेषभुषासँगै तराईमा आस्था र विश्वासका साथ मनाईने छठ पर्व, झिझिया लगायतका संस्कृति झल्किने झाँकी प्रदर्शन गरेका थिए ।
लोक संस्कृति र नेपाली मौलिक परम्पराको जगेर्ना गर्न नयाँ पूस्तालाई प्रोत्साहित गर्नका लागि पनि मार्चपाससँगै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेर नौलो प्रयासको शुरुवात गरिएको विद्यालयका प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताउनुभयो । माद्यामिक तह सम्मका छात्र–छात्राहरुका लागि कबड्डी, बास्केटबल, टेनिस, रिल दौड, लङ जम्प, त्रिपल जम्प, हाई जम्प लगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।
विद्यालयको वार्षिक कार्यतालिका अन्तर्गत ज्ञानदा एकेडमीले आफ्नै खेल मैदानमा विभिन्न स्तरका खेलकुद प्रतियोगिता आयोजना गरेको एकेडेमीकी सहायक प्रधानाध्यापिका जागृती मिश्राले बताउनुभयो । प्रतियोगितामा अन्नपूर्ण हाउस प्रथम, द्वितीय धौलागिरी र माछापुछ्रे र तृतीय सगरमाथा हाउस भएका थिए । ज्ञानदा एकेडेमीका अध्यक्ष सन्दिप तुल्स्यानको अध्यक्षतामा भएको खेलकुद प्रतियोगिताका बिजयी छात्रछात्रालाई कप, मेडल र प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा भूूतपूर्व अन्तर्राष्ट्रि खेलाडी जयप्रकाश सर्राफ, एथलेटिक एशोसिएशनका अध्यक्ष विरेन्द्र पटेल, क्रिकेट एशोसियशनका अध्यक्ष दाउद अंसारीसहित विद्यालयका शिक्षक शिक्षिका, पत्रकार, अभिभावक लगायतको उल्लेखय उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण ज्ञानदा एकेडमीका शिक्षकद्धय स्वर्णिम क्षेत्री र आकृति थापाले गरेका थिए ।