वीपीसी कलेजको सप्ताहव्यापी खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सम्पन्न 

वीपीसी कलेजको सप्ताहव्यापी खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सम्पन्न 

वीरगञ्ज, १५ पुष ।  वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम बिहीबार समापन भएको छ ।  

कलेजका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न र व्यक्तित्व विकासका लागि सप्ताहव्यापी विभिन्न १० भन्दा बढी प्रतियोगिताहरुको आयोजना गरेको थियो । बिहीबार अन्तिम दिन भने बीपीसी सिङ्गिङ आईडल र टेलिभिजन समाचार वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

यी दुई प्रतियोगिताका विजेताहरुलाई बिहीबार आयोजना गरेको समापन समारोहमा शिल्ड, मेडल तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको कलेजका कार्यकारी निर्देशक प्राध्यापक डा. दिपक शाक्यले जानकारी दिनुभयो । कलेजले पहिलो पटक टेलिभिजन समाचार बाचन प्रतियोगिता आयोजना गरेको कलेजका क्याम्पस प्रमुख बिनय श्रेष्ठले बताउनुभयो ।

विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरुमा अब्बल बनाउने कलेजको लक्ष्यअनुरुप प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो । भविष्यमा कलेजमा अध्ययन गरेका विद्यार्थीहरुबाट नै खेलाडी, कलाकार, पत्रकार बन्ने हुँदा अहिलेदेखि नै उनीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिइएको कलेजका को-अर्डिनेटर वासुदेवलाल कर्णले बताउनुभयो ।

कलेजले बुद्धिचाल (चेस), कबड्डी, क्यारेमबोर्ड, फुटबल, क्रिकेट, टेलिभिजन समाचार वाचन, गायन लगायतका प्रतियोगिताहरु आयोजना गरेको कलेजका अरविन्द श्रेष्ठले बताउनुभयो। टेलिभिजन समाचार वाचन प्रतियोगितामा पत्रकारद्वय निरज पिठाकोटे मगर र शिबनाथ यादवले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यस्तै गायन प्रतियोगिताको मेन्टरमा मन्दिप खड्का र चन्दन प्रजापती थिए भने निर्णायकमा ध्रुबसिँह ठकुरी र रमेश परियार रहनुभएको थियो ।