नेपालको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री डा.महत
वीरगन्ज, १९ साउन । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले भने अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनु भएको छ । वीरगन्ज भन्सार र सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गर्न आउनुभएका अर्थमन्त्री डाक्टर महतले शुक्रबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरकृयामा यस्तो बताउनु भएको हो ।
अर्थमन्त्री डाक्टर प्रकाशसरण महतले मौद्रीक नीति र वित्त नीतिको संयुक्त प्रभाव आर्थिक वृद्धिमा पर्ने । भएकोले त्यही अनुसार आर्थिक प्रणाली सुधारका लागि सरकार अगाडि बढेको बताए । उनले भने, ‘अर्थतन्त्र एकदमै खराब छ भन्ने चाहिँ होईन । सुधारउन्मुख छ । खराब थियो । तर, अहिले धेरै सुधारतर्फ अगाडि बढेको छ । ओरालो लागेको छैन । उकालो नै लागि रहेको छ । तर, धिमा छ । आर्थिक वृद्धिदर सकारात्मक छ । तर, हाम्रो गति ढिलो छ । त्यसलाई फाष्ट बनाउनुछ ।’
अहिले पर्यटन व्यावसाय विस्तार हुदैछ कोभिड पछि पर्यटकहरु नेपाल आईरहेको र त्यसबाट पनि आर्थिक गतिविधि चलायमान सहयोग पुगेकोले अहिले मूल्य घटेको अर्थमन्त्री महतको दावी छ । तरपनि मौद्रिक नीतिले सोचे जस्तो ब्याजदर नघटेकोले घट्न जरुरी रहेको भन्दै यसलाई बैंकिङ्ग सिस्टमहरुले पनि रेस्पोन्स गर्न जरुरी रहेको बताउनुभयो ।
चालूपूँजीको हकमा अर्को निर्देशिका आउने जानकारी दिदै राष्ट्र बैंकलाई उद्योग व्यावसायको मर्कालाई मध्यनजर गरेर निर्देशिका आउनुपर्छ भनेको डाक्टर महतले बताउनुभयो । अर्थतन्त्रमा अलिकति अराजक प्रवृत्ति देखा परेको र दीर्घकालिन सोच राखेर कतिपय निर्णय नगर्दा हाम्रो सिस्टम ओभर वर्डन भईरहेकोले कसरी खर्चको व्यावस्थापन गर्ने भन्ने समस्या भईरहेको बताउनुभयो ।
भविष्यमा आउन सक्ने आयको सम्भावनाको यथार्थ मूल्यांकन विना नै स्रोतको सुनिश्चितता गर्दै गएकोले दायित्व थपिदै गएको भन्दै त्यसलाई अनुशासनमा ल्याउनुपर्ने बताए । अहिले पूँजीगत खर्च समयमा हुनुपर्ने भनेर समयमा ठेक्का लाग्नुपर्छ भन्ने सरकारको धारणा रहेको बताए । पूँजीगत खर्च बढाउनका लागि विनियोजित बजेटको खर्चलाई प्रभावकारी गर्ने सिरिज अफ स्टेपमा प्रस्ताव गरेको र त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने उहाँको भनाई छ ।
सरकारले आलू प्याज, तरकारी र फलपूmलमा लगाएको भ्याटको सन्दर्भमा राजस्व उठाउनलाई भ्याट लगाएको नभई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि भ्याट लगाईएको स्पष्ट पार्नुभयो । कुनैपनि विषयमा अध्ययन नगरी सामाजिक सञ्जाल र कसैको भनाईको आधारमा नै धारणाहरु बनाउँदा अहिलेको वास्तविकता आम जनताले पाउन नसकेको भन्दै तथ्यपरक कुराहरुलाई बुझेर मात्रै धारणा बनाउन आग्रह गर्नुभयो ।
सरकार पारदर्शिता र सुशासनको प्रत्याभूति दिने गरी अगाडि बढीरहेको भन्दै कतिपय कुरा निर्णय हुन बाकी रहेको बताए । उनले भन्सार राजस्वमा त्रुटी कुनैपनि हालतमा मान्य नहुने भन्दै करदातालाइ अनावश्यक झण्झट दुख नदिन पनि सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
खाद्यान्नमा आउनसक्ने समस्याको बारेमा सरकार सचेत रहेको र दीर्घकालीन योजना ल्याउने पनि जानकारी गराउनुभयो । किसानका लागि मल अभाव हुन नदिन आवश्यक रकम सुनिश्चितता गर्ने बताउदै विकास र सेवामा राज्यले कसैसँग भेदभाव नगर्ने पनि बताउनुभयो ।
विभिन्न समस्याले थलिएको उद्योग व्यापार क्षेत्र भर्खरै लयमा आउदै गर्दा सरकारले ल्याएको बजेट र मौद्रिक नीतिले उद्योग व्यावसाय क्षेत्रलाई प्रोत्साहन नगरेर थप कडाई गरेर व्यापार व्यावसायबाट पलायन गर्न खोजेको गुनासो गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तकृया कार्यक्रममा अहिले सरकारले लागू गरेको आयातित वस्तुमा लेबल अनिवार्य र भन्सार मूल्यांकन यथावत राख्दा आयात व्यापारमा कमी आउने उद्योगी व्यावसायीहरुको तर्क छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा अर्थ सचिव अर्जुन पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डाक्टर सुवोध गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
त्यसअघि अर्थमन्त्री प्रकाशसरण महतले सञ्चारकर्मीहरुसँगको साक्षत्कारमा पनि नेपालको अर्थतन्त्रको सकारात्मक सूचकांकहरु देखिएको बताउनु भएको थियो । उहाँले सरकार संस्थानहरुको अवस्था राम्रो नभएको भन्दै वीरगन्ज चिनी कारखाना चलाउने सोचमा नरहेको बताए । उनले हेटौंडा सिमेण्ट उद्योग र उदयपुर सिमेण्ट उद्योग सञ्चालनमा पनि समस्या देखिएको भन्दै सरकार अब निजीक्षेत्रलाई उद्योग व्यावसायमा प्रोत्साहन गर्न लागि परेको धारणा राख्नुभयो ।
उनले निजी क्षेत्रलाई ब्यवस्थापकीय जिम्मेवारी दिएर संचालन हुने सक्ने कुराको अध्ययन अनुसन्धान आवश्यक रहेको बताउनुभयो । ‘निजी चिनी मिलहरु नै राम्रोसँग सञ्चालन हुन नसकिरहेको अवस्थामा सरकारी मिल चल्छ भन्ने मलाई लाग्दैन’ उनको भनाई थियो । सरकारले सुशासन दिने, पारदर्शीतालाई सुनिश्चितता गर्ने, विकास निर्माणलाई तिव्रता दिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कुरा नै सरकारको प्रथामिकता रहेको बताएका मंत्री महतलाई सुन प्रकरणमा किटान भएका नेताहरुको गिरफ्तारी किन भएन भनेर पत्रकारले सोध्दा मंत्री महतले अनुसन्धान भइरहेको बताउनुभयो ।