पर्सा जिल्लामा बलात्कार, हत्या लगायत गम्भिर अपराधका घटनामा वृद्धि 

पर्सा जिल्लामा बलात्कार, हत्या लगायत गम्भिर अपराधका घटनामा वृद्धि 

वीरगन्ज, १९ साउन । पर्सा जिल्लामा बलात्कार, हत्या लगायत गम्भिर अपराधका घटनाहरु बृद्धि भएको पाइएको छ । पर्सामा अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा बलात्कार, हत्या लगायतका गम्भिर अपराधका घटनाहरु बढेको तथ्यांक जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले बितेको आर्थिक वर्षको कार्यप्रगति सार्वजनिक गर्दै प्रहरी उपरीक्षक कोमल शाहले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा जबरजस्ति करणी (बलात्कार), जबरजजस्ती करणी उद्योग, कर्तब्य ज्यान (हत्या), बाल यौन दुव्र्यवहार, मानव बेचबिखन गरि गम्भिर अपराध सम्बन्धी ६६ वटा मुद्धा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७९/८० मा भने उक्त अपराधको संख्या बढेर ७८ वटा मुद्धा दर्ता भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा सबै भन्दा बढी बलात्कार र बलात्कारको प्रयास सम्बन्धी घटना भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय पर्सामा बलात्कारका ४९ र बलात्कारको प्रयासका ५ वटा गरि ५४ वटा मुद्धा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा भने पर्सा प्रहरीमा बलात्कारका ३४ र बलात्कारको प्रयासका १३ वटा गरि ४७ वटा मात्र मुद्धा दर्ता भएको थियो ।

पर्सामा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा बलात्कार र बलात्कारको प्रयासका गरि ७ वटा घटना बढी भएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो । यस्तै पर्सा प्रहरीमा गत आर्थिक वर्षमा कर्तब्य ज्यान (हत्या) सम्बन्धि १६ वटा मुद्धा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा भने कर्तब्य ज्यान सम्बन्धि ११ वटा मात्र मुद्धा दर्ता भएका थिए ।

गाँउघरमा पछिल्लो समय विवाहको उमेर नपुगेका किशोरी आफनो प्रेमीसंग भागेपछि किशोरीका अभिभावकले प्रहरी कार्यालयमा जबरजस्ति करणीको मुद्धा दर्ता गराउने गरेका कारण बलात्कारका मुद्धा दर्ताको संख्या बढेको उहाँले बताउनुभयो ।

यसका साथै लिभिङ टुगेदरमा रहेका प्रेमी प्रेमिकाबीच सम्बन्ध बिग्रिएपछि प्रेमिका (युवती वा महिला) ले प्रेमी विरुद्ध बलात्कारको मुद्दा दर्ता गराउने गरेका कारणले पनि बलात्कार सम्बन्धी मुद्दा दर्ताको संख्या बढी देखिएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।