लेखा प्रशिक्षणले विद्यार्थीहरुको मनोबल बढायोे
वीरगन्ज, ११ भदौ । वीरगन्जमा एक हप्ता आयोजना गरिएको लेखा सम्बन्धि प्रशिक्षणले विद्यार्थीहरुको मनोवल बढाएको छ । विद्यार्थीहरुलाई पाठ्यक्रम भित्रको सिकाईले मात्रै उनीहरुले पर्याप्त ज्ञान हासिल गर्न नसक्ने भन्दै वीरगन्ज कलेजले आयोजना गरेको लेखा सम्बन्धि एक हप्ते व्यावहारिक सीपको तालिमले विद्यार्थीहरुको मनोवल बढाएको हो ।
कलेजमा पढाईएका विषयले मात्रै ज्ञान विद्यार्थीले आफ्नो भविष्य निर्माण गर्न नसक्ने भएकोले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक ज्ञानको पनि आवश्यकता देखेर तालिम आयोजना गरेकोमा विद्यार्थीहरु निकै खुशी भएका छन् ।
उनीहरुले कक्षामा पढ्ने विषयमा डेबिट, क्रेटिड, ब्यालेन्ससिट लगायतहरु मात्रै जानिएको तर, तालिमबाट प्रतित पत्र, आरटीजीएस, ड्राफ्ट लगायतका व्यवहारिक विषयहरुको पनि ज्ञान हासिल भएको तालिममा सहभागी विद्यार्थी अनिता कुमारीले बताईन् ।
कलेजको कक्षा कोठामा पढेको भन्दा तालिमले केही फरक कुराहरु सिक्न पाएको र यसले आफूलाई रोजगारीमा जाने क्रममा कसरी अन्तवार्तामा सहभागी हुने आफ्नो व्यक्तिगत विवरणहरु कसरी बनाउने कसरी प्रस्तुत गर्ने देखि लेखा सम्बन्धमा के के कामहरु गर्नुपर्छ भन्ने विषयमा जानकारी लिन पाएको अर्का विद्यार्थी मुस्कान मिश्रले बताईन् ।
कलेजले आयोजना गरेको तालिमबाट विद्यार्थीहरुले सीप दक्षता हासिल गर्ने र बजारमा समेत स्थापित हुनका लागि सहयोग गर्ने विश्वास रहेको कलेजका सञ्चालक समिति अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीले बताए ।
कलेज पढिसकेपछि अहिले अधिकांश विद्यार्थीहरु बैंकहरुमा इन्टर्नसीप गर्न जाने गरेको र उनीहरुलाई खाता खोल्ने र डकुमेण्ट मिलाउने बाहेक अन्य केही पनि काम बैंकहरुमा सिक्न नपाउने भएकोले त्यस्तो काममा भन्दा आफूलाई कलेजबाट व्यवहारिक सीपबाट दक्ष भएर रोजगारीमा जान डाक्टर चौधरीको सुझाव छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार आग्रवालले वीरगन्ज कलेजले आर्थिक नगरी वीरगन्जमा नयाँ किसिमको तालिम दिएर व्यावसायिक सीप विकास गरी रोजगारी सृजना गर्नुको साथै बजारको माग अनुसारको तालिमले रोजगारदाताहरुलाई समेत जनशक्ति आपूर्तिमा सहजीकरणको भूमिका खेलेको बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले वीरगन्ज निजी कलेजले पहिलो पटक विद्यार्थीहरुलाई व्यावसायिक तालिमबाट सीपले दक्ष बनाएर बजारमा बिक्ने खालको जनशक्ति तयार गर्न आधार बनाएकोमा प्रशंसा गरे । उनले अहिले बजारमा रोजगारीका लागि आउनेहरुले सामान्वय विषयमा समेत ज्ञान नराखेर प्रमाणपत्रको आधारमा मात्रै रोजगारी खोज्ने प्रवृत्ति रहेको बताए ।
सैद्धान्तिक ज्ञानले मात्रै विद्यार्थीहरुको भविष्य निर्माण गर्न नसकिने र उनीहरुमा व्यावहारिक ज्ञान र व्यावसायिक र जीवनपयोगी सीप नभई बजारमा बिक्री हुने खालको जनशक्ति उत्पादन नहुने भएकोले कलेजबाट नै बजारमा दक्ष जनशक्ति बनाउन सकियोस भन्ने उद्देश्यले तालिम दिने योजना कलेजले बनाएको कलेज प्रमुख विनोद गुप्ताले बताए ।