ठाकुरराम बहुमुखी क्याम्पस बीबीएका विद्यार्थीहरु आमरण अन्सनमा
वीरगन्ज, ४ चैत । ठाकुरराम बहुमुखी क्याम्पसको बीबीए सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको कक्षाकोठा, भवन, शौचालय र पढाई लगायतका सेवा सुविधाहरु गुणस्तरीय हुनुपर्ने माग गर्दै बुधबारदेखि आमरण अन्सनमा बसेका छन् ।
ठाकुरराम क्याम्पसमा बीबीए सेमेष्टरको भर्ना लिने समयमा नै नयाँ भवनमा बीबीए संचालन गर्ने भनेर विद्यार्थी भर्ना लिईएको भएपनि अहिलेसम्म बीबीएको निर्माणाधिन भवन अझै बन्न नसकेको र पूरानो भवनमा पठन पाठन गर्न असहज भएको गुनासो गरेका छन् । उनीहरुले बीबीए भवनको व्यावस्थापन तथा अन्य सुविधाहरु समेत क्याम्पसमा उपलब्ध हुनुपर्ने माग राखेर २ महिना अघि नै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएपनि अझैसम्म क्याम्पसले कुनै सुनुवाई नगरेपछि बाध्य भएर आमरण अनसनमा बस्नुपरेको बीबीएका विद्यार्थी सचिन पटेलले बताउनुभयो ।
विद्यार्थीहरुलाई नयाँ भवनमा राख्ने भनेर भर्ना लिएपनि अहिले आएर भवन पनि निर्माण सम्पन्न नभएको तथा प्रशासनले खासै न गरेको विद्यार्थीहरुको गुनासो छ । बीबीएका विद्यार्थीहरुले पटक पटक क्याम्पस प्रशासनसँग सुधारको लागि ध्यानाकर्षण गराएपनि त्रिविबाट डिन आएको समयमा समेत समस्या समाधान गर्न नसकेको अर्का विद्यार्थी आशुतोष पटेलले बताउनुभयो । उनीहरुको माग पूरा नभएसम्म अब अनसन जारी रहने बताउनुभयो ।