सीमानाका खोल्न माग गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र, बिहीबारदेखि सीमा खोल्ने मन्त्रीको आश्वासन

सीमानाका खोल्न माग गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र, बिहीबारदेखि सीमा खोल्ने मन्त्रीको आश्वासन

वीरगन्ज, ४ चैत । कोरोना संक्रमण कम भएर सबै क्षेत्र खुला भएपनि अझै सीमानाका नखुल्दा पर्यटनक्षेत्र प्रभावित भएको भन्दै पर्यटन व्यवसायीहरुले गुनासो गरेपछि सरकारले सीमा नाका खोल्ने संकेत दिएको छ ।

कोरोनाका कारण चैत १० गतेदेखि बन्द रहेका वीरगन्ज सहितका अन्तर्राष्ट्रिय बन्द गरेका थियो । कोरोना संक्रमण घट्दै गएपछि अन्य स्थल नाकाहरु खुला गरेपनि वीरगन्ज नाकामा भने भारतीय सवारी साधान प्रवेशमा रोक लगाएको थियो । वीरगन्ज रक्सोल सीमानाका औपचारिक रुपमा नखुल्दा कोरोनाले थलिएको पर्यटन क्षेत्र झन् प्रभावित हुदै गएको भन्दै होटल तथा पर्यटन व्यवसायीहरुले सीमा नाका खोल्न विभिन्न समयमा आग्रह गर्दै आएका थिए ।

बन्द रहेका सीमा नाकाहरु मध्य यसअघि माघ ११ मा बसेको मन्त्रिपरिषदको बैठकले वीरगन्ज सहित देशभरका ३० वटा स्थलनाका खोल्ने निर्णय गरेर माघ १५ गते जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरिएको जानकारी गराएको थियो । तर भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख स्थल नाका वीरगन्जमा भने भारतीय सवारी साधन प्रवेश पाएको थिएन् । |

नाका खोल्न विभिन्न माध्यमहरुबाट सरकारसँग माग गरेपनि कुनै सुनवाई नभएपछि बुधबार होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र पर्यटन पत्रकार संघ पर्साले कोरोना संकट नियन्त्रण समिति (सिसिएमसी) का संयोजक समेत रहेका उप्रप्रधानमन्त्री ईश्वर पोखरेल र पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएको थियो ।

बुधबार मन्त्री निवासमै पुगेर संघले उपप्रधानमन्त्री पोखरेललाई ज्ञापन पत्र मार्फत सीमा नाका खोल्न आग्रह गरेका थियो । ज्ञापनपत्र बुझेपछि उपप्रधानमन्त्री पोखरेले बिहीबार अपरान्ह ४ बजे बस्ने सिसिएमसीको बैठकले नाका खोल्ने निर्णय गर्ने आश्वासन दिएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिए ।

वीरगन्ज क्षेत्रमा भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित गएको हप्ता मात्रै होटल तथा पर्यटन व्यवसायी संघ पर्साले ‘पर्यटन पुनरुत्थानको लागि साझेदारी’ कार्यक्रमको घोषणा गरेको थियो । त्यसलाई सफल पार्नका लागि भारतीय पर्यटकहरुमाथि नै निर्भर रहनुपर्ने भएकोले सीमा नाका तत्काल खोल्नुपर्ने देखेर उपप्रधानमन्त्रीलाई आग्रह सहित ज्ञापनपत्र बुझाएको हो ।

भारत सरकारले आफ्नो तर्फको नाका कात्तिक ६ गतेदेखि नै खोलिसकेको भए पनि नेपाल सरकारले भने वीरगन्ज सहितका नाका अझै पनि औपचारिक रुपमा खोलेको छैन । सीमा नाका नखुल्दा सीमाक्षेत्रका होटल तथा पर्यटन व्यवसाय प्रभावित हुँदा देशको अर्थतन्त्रमा नै नकरात्मक असर परेको भन्दै तत्काल सीमा नाकामा प्रवेशलाई सहज बनाउनुपर्ने व्यवासायीहरुको माग छ ।

सरकारको निर्णयसँगै वीरगन्ज नाकामा भारतबाट मानिसको आउजाउ सुचारु भए पनि मालबाहक बाहेक अन्य सवारी साधनलाई सीमा खटिएका सुरक्षकर्मीले नााकमै रोकेर फिर्ता पठाइदिने गरेका छन् । माघ ११ गते स्थल सीमा नाका खोल्ने सरकारको निर्णयपछि नाका नखुल्दा लकडाउनकै अवस्था जस्तै विद्यामन रहेको पन्तले बताए ।

सरकारले नाका खोलिसकेको भने पनि नेपाल प्रवेश गर्ने झन्झटिलो प्रकृया र नाकामा खटिएका सुरक्षाकर्मीहरुले दुःख दिने गरेका कारण भारतबाट पर्यटकहरु आउन नसकेको होटल तथा पर्यटन व्यवसायीहरुको भनाई छ ।