खानेतेलको मूल्य लिटरमै ५० रुपैयाँसम्म घट्यो, खुद्रा व्यापार संघले पूरानै मूल्यमा विक्री गर्दै 

खानेतेलको मूल्य लिटरमै ५० रुपैयाँसम्म घट्यो, खुद्रा व्यापार संघले पूरानै मूल्यमा विक्री गर्दै 
प्रतीकात्मक तस्वीर

काठमाडौं, २ असोज । तेलको मूल्य ५० रुपैंयाले घटेपछि दशैंको मुखमा उपभोत्तालाई केही राहत हुने भएको छ । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्य घटेको छ । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको हो ।

 एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ । नेपाल वनस्पति घ्यु तेल उत्पादक संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको छ ।

संघका अध्यक्ष सन्दीप अग्रवालकाअनुसार जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको छ । तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटेका कारण नेपाली बजार पनि घटेको अध्यक्ष अग्रवालले बताउभयो । तर, नेपाल खुद्रा व्यापार संघले भने खानेतेलको मूल्य पुरानै सार्वजनिक गरेको छ । संघले शुक्रबार पठाएको विवरणअनुसार तोरीको तेलको मूल्य प्रतिलिटर मूल्य ३७०, भटमासको तेलको मूल्य २५५ रुपैयाँ र सूर्यमुखी तेलको मूल्य २९५ रुपैयाँ रहेको उल्लेख छ ।

सरकारले २३ भदौमा राजपत्र जारी गर्दै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको थियो । सूर्यमुखी, भटमास, तोरी, रायो, सर्स्युं लगायतका वस्तुको गेडा नै आयात गर्दा यसअघि ५० प्रतिशत रहेको भन्सार छुटलाई पनि बढाएर सरकारले ९० प्रतिशत पुर्‍याइदिएको थियो ।