चोरी र लुुटपाटको समान सहित तीनजना पक्राउ 

चोरी र लुुटपाटको समान सहित तीनजना पक्राउ 

वीरगन्ज, २६ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न चोरीको सामान सहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले सुनको सिक्री लुट्ने दुईजना र ल्यापटप र मोबाईल चोरी गर्ने एकजना गरी तीनजनालाई हिजो पक्राउ गरेको हो । सुनको सिक्री लुट्ने वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ बस्ने वर्ष १९ का निरज नट र सोही ठेगानामा बस्ने बर्ष १९ को युवराज रायलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बीरगञ्ज महानगरपालिका वडा नम्बर ११, श्रीपुर बस्ने ४५ वर्षीया सकुन्तला मेहता तरकारी बजारमा तरकारी किन्दै गर्दा उनको घाँटीमा लगाएको सुनको सिक्री लुटेर भागेका थिए । तत्कालै अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न स्थानमा भएका सुनको सिक्री लुट्ने घटनाहरूमा संलग्न भएको खुल्न आएकोले निजहरूलाई चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट ५  दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको तथा समूहमा रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष १९ को मुन्ना कुमार रामलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर–११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप र मोबाइल लगायतका धनमाल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रकाशन रौनियारले घरमा चोरी भएको उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साले

अनुसन्धान गर्दै जाँदा शंका लागेर प्रहरीले रामको घरको तलासी लिँदा चोरी भएको डेल कम्पनीको ल्यापटप १ थान र भिभो कम्पनीको मोबाइल फोन १ थान उनको कोठाबाट बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको सामान सहित मुन्ना कुमारलाई पनि चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट ५  दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।