बाराको सिम्रौनगढमा प्रहरी र तस्करबीच झडप
वीरगन्ज, २४ जेठ । बाराको सिमरौनगढमा तस्कर र प्रहरीबीच झडप भएको छ । सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ६ सिमरौनगढ बजारको मुख्य चोकमै सोमबार प्रहरी र तस्करबीच झडप भएको हो । भारतीय तस्करहरुले दिन दहाडै खुलेआम तस्करीको कपडा नेपाल तर्फ भित्र्याई रहेको अवस्थामा गस्तीमा रहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको कपडा तस्करहरुले जबरजस्ती प्रहरीसँग सामान खोस्न खोजेपछि प्रहरी र तस्करहरु बिच झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् । तस्करहरुको भनाइ अनुसार प्रहरीका माथिल्लो निकायमा मासिक रुपमा नजराना दिने गरेपनि समान प्रहरीले नियन्त्रणमा लिएको भन्दै तस्करहरु आक्रोशित भएका हुन् ।
प्रहरी र तस्करहरुबीचको झडप स्थानीयवासी र ब्यपारीहरुले शान्त पारेका थिए । झडपमा संलग्न तीन जना तस्करहरुको खोजी भाईरहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दीपक सुवेदीले बताउनु भयो ।