पर्सामा संक्रमितको संख्या घट्यो, ९६ जनाको पीसीआर परीक्षण गर्दा ५ जना मात्रै संक्रमित
वीरगन्ज, २४ जेठ । पर्सा जिल्लामा सकृय संक्रमितको संख्या पाँचसय भन्दा तल झरेको छ । जिल्ला कोभिड संकट व्यावसथापन केन्द्रको अद्यावधिक तथ्यांक अनुसार जेठ २४ गते सोमबारसम्म सकृय संक्रमित ४ सय ३७ जना मात्रै छन् । सोमबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाँच जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साबाट संकलन गरिएको स्वाब नमूनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २ जना बाराका २ जना र रौतहटका एकजना गरी पाँचजनामा मात्रै संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । जेठ १६ देखि जेठ २४ गते सम्म ९ दिनमा १ हजार १ सय ५३ जनाको परिक्षण गर्दा १२ प्रतिशतमा मात्र अर्थात १४० जनामा मात्र संक्रमण भेटिएको छ ।
जेठ २३ गते ९६ जनाको परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको थियो । यसरी प्रतिशतमा १२.१४ प्रतिशत मात्रै संक्रमित भएका छन् । यसअघि अस्ति शनिवार पनि ९६ जनाको परिक्षण गर्दा १० जनामा मात्र संक्रमण पुष्टि भएको थियो । पछिल्लो एक सातामा वीरगन्जमा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या पनि बढ्दै गएको छ । यस्तै जेठ १६ देखि जेठ २२ सम्म ७ दिनको अवधीमा ७२१ जना निको भएका छन् ।
दोश्रो लहरमा बैशाख १५ देखि जेठ २२ सम्म पर्सा जिल्लामा २ हजार ४ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भइ निको भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्याक्ति विनय श्रीवास्तवले जानकारी दिनुभयो । एक हप्ता यता नयाँ थपिने संक्रमितको संख्या निरन्तर कम हुदै गएको र निको हुनेको संख्या बढ्दै गएकाले अस्पताल र आइशोलेसन सेन्टरहरुमा शैया खालि हुदै गएको छ ।
कोरोना संक्रमतिको उपचारका लागि अस्पताल र आइशोलेसन सेन्टरमा गरि ७ सय ३१ शैयाको व्यवस्थापन गरिएको छ । तर अहिले ती सबैमा गरि ८४ जना मात्र संक्रमित भर्ना छन् । बाँकी ६ सय ६ वटा शैया खाली रहेको श्रीवास्तवले जानकारी दिनुभयो ।यस्तै होम आइशोलेसनमा ३ सय ७६ जना मात्र संक्रमित रहेको श्रीवास्तवले जानकारी दिनुभयो ।