१२ घण्टामा नारायणी अस्पतालमा ५ जनाको मृत्यु
वीरगन्ज, २ जेठ । वीरगन्जको नारायणी अस्पतालमा मात्रै १२ घण्टामा पाँचजनाको मृत्यु भएको छ । शनिबार साँझ ६ बजेदेखि आईतबार बिहान ६ बजेसम्ममा नारायणी अस्पतालमा मात्रै पाँचजनाको मृत्यु भएको हो । नारायणी अस्पतालले आईतबार बिहान दिएको रिपोर्ट अनुसार शनिबार साँझ ६ बजेदेखि आईतबार बिहानसम्ममा पाँचजनाले ज्यान गुमाएको पाईएको छ ।
अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासका अनुसार हिजो साँझ ६ बजे बाराको निजगढ नगरपालिका वडा नम्बर ७ का ४३ बर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको जेठ १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको हिजोसाँझ ६ बजे मृत्यु भएको हो । त्यस्तै बाराकै प्रसौनी गाउँपालिका वडा नम्बर ५ का ४६ बर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
बैशाख २१ गते भर्ना गरिएको उनको सोही दिन पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनको गएराति पौने ११ जने मृत्यु भएको डाक्टर दासले बताउनुभयो । त्यसैगरी बाराकै सुवर्ण गाउँपालिका वडा नम्बर २ का ६० बर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बैशाख ३० गते अस्पतालमा भर्ना गरिएको उनको एन्टीजेन परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । उनको आज बिहान सवा २ बजे मृत्यु भएको हो ।
त्यस्तै बारा सिसहनियाका २५ बर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको छ । बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको उनको आज बिहान ४ बजेर १० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर दासले बताउनुभयो । उहाँका अनुसार मृतक महिलालाई बैशाख २५ गने भर्ना गरिएको र २७ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ आएको थियो ।
यस्तै सर्लाहीको फरहदवा वडा नम्बर ५ की ४७ बर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको छ । बैशाख २१ गते अस्पताल भर्ना भएकी उनको एन्टिजने परीक्षण गर्दा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो । उनको आज बिहान साढे पाँच बजे मृत्यु भएको डाक्टर दासले बताउनुभयो । नारायणी अस्पतालमा १२ घण्टाको अनरालमा पाँचजनको ज्यान गएको छ ।