वीरगन्ज महानगरको २ वडामा पूर्ण खोप घोषणा, सबै वडा क्रमशः पूर्ण खोप घोषणा गरिने
वीरगन्ज, ७ असार । वीरगन्ज महानगरपालिकाका दुईवटा वडालाई पूर्ण खोप वडा घोषणा गरिएको छ । महानगरपालिकाको वडा नम्बर ८ र वडा नम्बर १३ लाई सोमबार पूर्ण खोप वडा घोषणा गरिएको हो । महानगरपालिकाको वडा नम्बर ८ मा १६ महिनादेखि ३० महिना सम्मका कूल ५७ जना बालबालिका मध्य १२ जना बाँकी रहेकोमा उनीहरुलाई पनि सबैखोप लगाईएपछि पूर्ण खोप वडा घोषणा गरिएको छ ।
त्यस्तै वडा नम्बर १३ का कूल १०९ बालबालिका मध्य १५ महिना मुनीका बालबालिका सबै खोप लगाईसक्नु पर्नेमा ८० जनालाई मात्रै सबै खोप लगाईएको थियो । बाँकी रहेका २९ जनालाई पनि खोप अभियानका क्रममा पत्ता लगाएर खोप लगाएपछि पूर्ण खोप वडा घोषणा गरिएको छ । सोमबार घोषणा गरिएको दुईवटा वडा सहित अहिलेसम्म महानगरपालिकाको १६ वटा वडा पूर्ण खोप भईसकेको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुण कुमार महतोले जानकारी दिनुभयो ।
महानगरपालिकाका प्राय सबै वडामा पूर्ण खोप लगाईसकिएको र क्रमशः पूर्ण खोप वडा घोषणा गर्दै जाने उहाँले बताउनुभयो । पूर्ण खोप युक्त वडा घोषणा गर्नका लागि आवश्यक मापदण्ड पूरा गरि वडाका सबै बालबालिकाहरुलाई खोप दिएपछि पूर्ण खोप घोषणा गरिएको हो । महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सोमबार एकैदिन दुईवटा वडालाई पूर्ण खोप घोषणा गर्नुभएको हो ।
वडा नम्बर ८ का वडा अध्यक्ष राजकिशोर गुप्ताको अध्यक्षतामा र वडा नम्बर १३ मा वडा अध्यक्ष तुफान अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाकाका नगर प्रमुख विजय कुमार सरावगीले पूर्ण खोप घाषणा गर्नुभएको हो । यस्तै नगर स्तरीय बजेटमा निर्माण गरिएको वडा नम्बर ८ को स्वास्थ्य चौकी भवनको समेत नगर प्रमुख सरावगीले उद्घाटन गर्नुभएको छ । असार १५ गतेसम्ममा महानगरका सबै वडालाई पूर्ण खोप वडा घोषणा गर्ने गरी तयारी रहेको महानगरपालिकाले जनाएको छ ।