वीरगन्ज महानगरको वडा नम्बर १४ पूर्ण खोप घोषणा
वीरगन्ज, ८ असार । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १४ पनि पूर्ण खोप घोषणा भएको छ । वीरगन्ज हेल्थ पोष्ट परिसरमा मंगलबार आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १४ लाई पूर्ण खोपयुक्त घोषणा गर्नुभएको हो ।
जन्मिएदेखि २३ महिनासम्मका सबै बालबालिकाहरु पूर्ण खोप लगाई सकेकोले वडा नम्बर १४ लाई नगरप्रमुख बिजय कुमार सरावगीले पूर्ण खोप वडा घोषणा गर्नुभएको वीरगन्ज हेल्थपोष्टका इन्चार्ज रुपलाल साहले जानकारी दिनुभयो । वडा अध्यक्ष भरत कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
यसअघि हिजो वीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ र वडा नम्बर १३ पूर्ण खोप घोषणा भईसकेको छ । महानगरपालिकाको सबै वडामा लगभग खोप लगाउने कार्य पूरा भएकोले क्रमशः पूर्ण खोप वडा घोषणा गर्दै लगिएको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।