नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा गुप्ता निर्वाचित
वीरगन्ज, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुवोध गुप्ता केन्द्रीय सदस्यमा पुनः निर्वाचित हुनुभएको छ । गुप्ता ७५ म ल्याएर विजयी हुनुभएको हो । उमेशलाल श्रेष्ठ समूहबाट वस्तुगततर्फ उम्मेदवारी दिनुभएका गुप्ता दोश्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
उहाँ यसअघिको कार्यसमितिमा पनि वस्तुगततर्फ निर्वचित हुनुभएको थियो । जिल्ला नगरतर्फको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका गणेश लाठ भने पराजित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर सदस्यमा उमेशलाल श्रेष्ठ प्यानलको वर्चश्व देखिएको छ । यसअघि वस्तुगतमा पनि उमेशलालकै वर्चश्व कायम भएको थियो ।
हिजो भएको निर्वाचनको मतपरिणाम अनुसार महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी हुनु भएको छ । निर्वाचित वैद्य रामचन्द्र संघईको प्यानलबाट उम्मेदवार बन्नुभएको थियो । उहाँले ४३ मत प्राप्त गर्नुभएको छ । यस्तै अन्जन श्रेष्ठ प्यानलबाट उम्मेदवार बनेका अरुणराज सुमार्गीले ३७ र उमेशलाल श्रेष्ठ पक्षका दिनेश श्रेष्ठले ३४ मत पाएर पराजित भएका छन् । महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी हुनु भएको छ ।
ढकाल उमेशलाल श्रेष्ठ प्यानलबाट निर्वाचित हुनुभएको हो । हेमराज ६१ मत ल्याई निर्वाचित हुँदा अन्जन श्रेष्ठ प्यानलका मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले ७ मात्र प्राप्त गर्नुभएको छ ।