सिन्धुली र बैतडीमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु
वीरगन्ज, २९ चैत । सिन्धुली र बैतडीमा भएको सवारी दुर्घटनमा १० जनाको मृत्यु भएको छ । सिन्धुलीमा भएको कार दुर्घटनामा ४ र बैतडीमा भएको जीप दुर्घटनामा ६ जना गरी १० जनाको मृत्यु भएको हो । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।
मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् ।
उनलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले जनाएको छ । यस्तै बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनाको समयमा जिपमा १२ जना थिए । तीमध्ये ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए । जिप दुर्घटनाको कारण खुलेको छैन । जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृतक सबै एकै गाउँका हुन् ।