प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहद्वारा निरीक्षण र राहत वितरण

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहद्वारा निरीक्षण र राहत वितरण

जनकपुरधाम, २४ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले धनुषा जिल्लाको हन्सपुर नगरपालिका वडा नम्बर ०३ बेल्हीमा रहेको अस्थाइ प्रहरी पोस्ट निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले अस्थायी प्रहरी पोष्टको अवस्था र त्यहाँको समस्याको बारेमा जानकारी लिनुभएका साथै स्थानीयसंग पनि भेटघाट गर्नुभएको छ ।

भेटघाटका क्रममा मन्त्री साहले बेल्ही क्षेत्रको सुरक्षाको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको मन्त्री साहको सचिवालयले जनाएको छ। साह मन्त्रीमा नियुक्त भएदेखि विभिन्न क्षेत्रको समस्याको बारेमा जानकारी लिने र त्यसको समाधानको लागि आवश्यक कमद चाल्न व्यस्त रहनुभएको छ ।

खासगरी प्रदेश २ मा बढेको आपराधिक घटना तथा महिला हिंसाका घटना न्यूनिकरणमा उहाँले विशेष चासो देखाउनु भएको छ । प्रदेश २ मानव सूचकांमा पनि अन्य प्रदेशभन्दा पछाडि रहेकोले आपराधिक घटना नियन्त्रण र न्यूनीकरणका लागि शिक्षा र सामाजिक विकासलाई बढी जोड दिनुपर्ने मन्त्री साहले बताउनुभयो । 
 
बाढी प्रभावित स्थानको निरीक्षण र राहत वितरण 
मन्त्री साह हन्सपुर नगरपालीका कै वडा नम्बर ५ सुगा निकास गाउँमा बर्षाले गरेको कटानका कारण भत्किएका घरको निरीक्षण एवम पीडितहरुलाई राहत वितरण गर्नु भएको छ। बाढी र डुबानका कारण हरेक वर्ष समस्या आउने गरेकाले यसको स्थायी समाधानका लागि आपूmले सक्दो प्रयास र पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।