वीरगन्ज कारागारमा भाईरल ज्वरो फैलियो
वीरगन्ज, २४ साउन । वीरगन्ज कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । कारागारमा रहेका २ सय ६० जना कैदीबन्दीमा ज्वरो तीव्र रुपमा बिस्तार भइरहको कारागारका स्वास्थ्य प्रमुख दीपक यादवले बताउनुभयो ।
ज्वरोको प्रकोप तीव्र रुपमा फैलिरहेको र अधिकांश बिरामी कैदीबन्दीमा कारागार बाहिर फैलिएको इन्फ्लुएन्जा ‘ए’को जस्तै रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएको यादवले जानकारी दिनुभयो । बिरामी कैदीबन्दीको उपचार गर्दागर्दै आफू पनि हिजोदेखि भाइरल ज्वरोको सिकार भएको यादवले बताउनुभयो । उहाँले आफू सहित अन्य १० जना संक्रमित भएको पनि बताउनुभयो ।
पुरुष मात्र नभइ महिला कैदीबन्दीतर्फ पनि भाइरल ज्वरोको प्रकोप फैलिएको उहाँले बताउनुभयो । कारागारका निमित्त जेलर नवराज बर्तौलाले बिरामीको उपचार गर्न हाल औषधिको अभाव नरहेको बताउनुभयो । कारागारमा आजसम्म महिला र पुरुष गरी १ हजार २ सय ५८ कैदी बन्दी रहेको उहाँले जानकारी दिनुभयो ।