बारा प्रहरीद्वारा १०२ किलो गाँजा र हतियार सहित तस्कर पक्राउ 

बारा प्रहरीद्वारा १०२ किलो गाँजा र हतियार सहित तस्कर पक्राउ 

ट्रिब्यून न्यूज
वीरगन्ज, २६ पुस । जिल्ला प्रहरी कार्यालय बाराले हतियार र लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट रतनपुर बारा सहितको संयुक्त प्रहरी टोलीले गएराति मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४७ को ईमान सिंह तामाङलाई हतियार र गाँजा सहित पक्राउ परेको हो ।


गस्ती गर्दै जाने क्रममा बारा जिल्ला निजगढ नगरपालिका वडा नं. १३ स्थित भक्तलाल खोलाको बगरमा अवैध लागु औषध गाँजा ओसार पसार खरिद बिक्री गरी रहेका अन्दाजी ८÷१० जनाको समूहमा रहेका लागू औषध तस्करहरूले प्रहरी टोलीलाई देख्नसाथ प्रहरीलाई लक्षित गरी हतियारबाट गोली फायर गरेकोले प्रहरी टोलीले प्रतिकार स्वरुप ठुलो चाईनिज पेस्तोलबाट ५ राउण्ड गोली फायर गरी तस्करहरू मध्येका तामाङलाई पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्रहरीले घटनास्थलबाट ५ ओटा सेतो बोराभित्र लुकाई छिपाई राखेको १०२ के.जि. प्रतिबन्धित लागू औषध गाँजा र उनको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरेको छ । हतियार सहित पक्राउ परेका उनलाई हातहतियार खरखजाना र लागू औषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।