ठोरीमा रोकिएन बाघको आतंक, एउटै खोरको ७ वटा बाख्रा मारिदियो
वीरगन्ज, १६ चैत । पर्साको ठोरीमा बाघको आतंक रोकिएन । बुधबार राति फेरिपनि पर्सा राष्ट्रिय निकुन्जबाट वस्ती प्रवेश गरेको पाटे बाघले एक किसानले पालेको बाख्रा मारिदिएको छ। पर्सा राष्ट्रिय निकुञ्जबाट आएको पाटे बाघले ठोरी ४ मानेचोकका स्थानीय नबिन तामाङको गोठमा पसेर बाख्रा मारेर खोर नै रित्तो पारिदिएको छ ।
बाघले ५ वटा माउ बाख्रा, २ वटा खसी गरि ७ वटा बाख्रा मारिदिएको कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिनुभयो । बाघको आक्रमणबाट किसान तामाङ्लाई एक लाख भन्दा धेरै क्षति पुगेको छ । बुधबार राति करीब ११ बजे बाख्राको खोरमा छिरेको बाघ राति १ बजे मात्र जङ्गल फर्केको थियो ।
घट्ना थाहा पाए लगतै स्थानीयबासीले पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई खबर गरेका थिए । उक्त बाघलाई स्थानीय बासी,निकुञ्जका कर्मचारी र आर्मीको संयुक्त टोलीले पर्सा राष्ट्रिय निकुञ्ज तर्फ फर्काएका हुन्। गएको चैत ७ सात गते पनि पर्सा राष्ट्रिय निकुञ्ज बाट निस्कीएको पाटे बाघले ठोरीको घ्याङडाँडाका स्थानीय मिकमार लामाको गोठमा नै आक्रमण गरेर ६ वटा बाख्रा १ भैसिको पाडा मारेको थियोे ।
त्यसपछि पर्साको पोखरिया नगरपालिकाको सतवरियामा पनि चितुवाले तीनजना घाईते बनाएको थियो । पर्सा र चितवन राष्ट्रिय निकुञ्जमा जंगली जनावरको संख्यामा भएको वृद्धिले निकुञ्ज आसपासका वस्तीहरुमा त्रास सृजना गरेको छ ।