पर्सामा २२६ जनाले दोश्रो लहरको कोरोना जिते
वीरगन्ज, १८ बैशाख । पर्सा जिल्लामा कोरोना संक्रमणको दोश्रो लहरपछि २२६ जनाले कोरोना जितेका छन् । बैशाख १७ गते शुक्रबारसम्म संक्रमित भएका मध्ये २ सय २६ जनाले कोरोनालाइ जितेर निको भएका हुन् । पर्साको अस्पतालमा उपचार गराएका र होम आइशोलेसनमा बसेका गरि २ सय २६ जना कोरोना संक्रमण मुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय श्रीवास्तवले जानकारी दिनुभयो ।
वीरगन्ज स्थित नारायणी अस्पतालमा भर्ना भइ उपचार गराएका मध्ये शुक्रबारसम्म ६६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका अस्पतालका कोभिड कोर्डिनटेर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । दोश्रो लहर शुरु भएदेखि शुक्रबारसम्म नारायणी अस्पतालमा १ सय ४१ जना संक्रमित उपचारका लागि भर्ना भएको र ती मध्ये शुक्रबारसम्म निको भइ ६६ जना डिस्चार्ज भएर घर फर्किएको डाक्टर दासले जानकारी दिनुभयो ।
उहाँका अनुसार, नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका मध्ये हिजो सम्म २४ जना संक्रमितको मृत्यु भएको छ । डाक्टर दासका अनुसार, नरायणी अस्पतालको आइशोलेसनमा अहिले ४७ जना संक्रमित उपचाररत रहेका छन् । अवस्था गम्भिर रहेकाले ती सबैलाइ अक्सिजन लगाएर राखिएको डाक्टर दासले जानकारी दिनुभयो । ती मध्ये ३ जनालाइ बिना ट्युबको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उहाले बताउनुभयो ।
नारायणी अस्पतालले जटिल अवस्थाका कोरोना संक्रमितलाइ मात्र भर्ना लिने गरेको छ । संक्रमण पुष्टि भएका तर लक्षण सामान्य भएका संक्रमितलाइ भने होम आइशोलेसनमा बस्ने गरि घर पठाइ दिने गरेको डाक्टर दासले बताउनुभयो । यस्तै पर्सा जिल्लाभरमा संक्रमण पुष्टि भएर होम आइशोलेसनमा बसेका मध्ये हिजो सम्म १ सय ६० जना संक्रमण मुक्त भएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड १९ सम्पर्क व्याक्ति विनय श्रीवास्तवका अनुसार, संक्रमणको दोश्रो लहर शुरु भए यता होम आइशोलेसनमा १ हजार २ सय ६२ जना रहेकोमा हिजो सम्म ती मध्ये १ सय ६० जना संक्रमण मुक्त भएका हुन् । हाल पर्सामा होम आइशोलेसनमा १ हजार १ सय २ जना रहेको जानकारी पनि श्रीवास्तवले दिनुभयो ।
उहाँका अनुसार , वीरगन्जका विभिन्न अस्पतालमा हाल ८७ जना संक्रमित उपचाररत छन् । नारायणी अस्पतालमा ४७ जना , नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको कोभिड अस्थायी अस्पतालमा १८ जना , बयोधा अस्पतालमा १४ जना र गण्डक हस्पिटलमा ८ जना संंक्रमित उपचाररत छन् ।