साउन १ गतेदेखि नारायणी अस्पतालको सरसफाई महानगरपालिकाले गर्ने
वीरगन्ज, २९ असार । साउन १ गतेदेखि नारायणी अस्पतालको सरसफाई बीरगन्ज महानगर पालिकाले गर्ने भएको छ । नारायणी अस्पतालको सरसफाईको जिम्मा महानगरपालिकाले लिने नगर प्रमुख राजेशमान सिंहले यसअघि नै घोषणा गरे अनुसार सावन १ गतेदेखि सरसफाइको जिम्मा लिने गरी आज दुईपक्षीय सम्झौता भएको छ ।
बीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साह र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर आदान प्रदान गरेर औपचारिक रुपमा साउन १ गतेदेखि अस्पतालको सरसफाईको जिम्मा महानगरपालिकाले गर्ने भएको हो । महानगरपालिकाले अस्पताल बाहिरी क्षेत्रको सम्पूर्ण सरसफाई गर्ने र त्यसबाट महानगरपालिकाले कुनैपनि शुल्क अस्पतालसँग नलिने सम्झौता पत्रमा उल्लेख छ ।
सरसफाईमा महानगरपालिकाले गरेको सुधारको चौतर्फी प्रशंसा भईरहेको बेला नारायणी अस्पतालको पनि सरसफाईको जिम्मा लिएपछि अब नारायणी अस्पतालको सरसफाईमा पनि सुधार हुने अपेक्षा गरिएको छ । अस्पताल जस्तो स्वास्थ्य संवेदनशील स्थानमा सरसफाई नै मुख्य कुरा भएकोले महानगरपालिकाले सरसफाई गर्ने जिम्मा लिएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।