भानु जयन्तीको अवसरमा मूर्ति अनावरण, प्रभातफेरी सहित कविता वाचन र पुरस्कार वितरण
वीरगन्ज, २९ असार । नेपालका आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तिको अवसरमा उहाँको मूर्ति अनावरण गरिएको छ । वीरगन्जको बसपार्क स्थित भानुचौकमा स्थापना गरिएको भानुभक्त आचार्यको मूर्तिको शुक्रबार लक्ष्मी प्रसाद देवकोटा पुरस्कारबाट सम्मानित साहित्यकार भवानी क्षेत्रीले अनावरण गर्नुभएको हो ।
वीरगन्ज महानगरपालिकाले स्थापना गरेको मूर्तिको भानु जयन्तिको अवसर पारेर नै अनावरण गरिएको हो । नेपाली भाष र सहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका तथा हिन्दु संस्कृति र धर्मको विषयमा कलम चलाउनु भएका आदिकवी भानुभक्त आचार्यको मूर्ति मधेस आन्दोलनका बेला तोडफोड गरिएको थियो । सोही स्थानमा महानगरपालिकाको नेतृत्वमा राजेशमान सिंह आएपछि यसपटक मूर्ति स्थापना गरिएको हो ।
भानुभक्त आचार्यले हिन्दु धर्मको संस्कृतिमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरेर सरलीकृत गरी धर्म संस्कृतिको प्रचारमा महत्वपूर्ण योगदान गर्नुभएको छ । आदिकवी भानुभक्त आचार्यलाई नेपालमा मात्रै होईन भारतका विभिन्न स्थानमा पनि सम्झने गरिन्छ ।
भानुभक्त नेपाली वाङ्मयकै विराट पुरुष हुन्। नयाँ ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहेको छ। पछिल्लो जनआन्दोलनका क्रममा धेरै ठाउमा भानुभक्तका मूर्तिहरू पनि तोडिएका छन्। भानुभक्तले गर्दा हाम्रा भाषाहरूको विकास हुन नसकेको हो भनेर गुनासो पनि धेरैले गरेका छन्। त्यसकारण गणतान्त्रिक नेपालमा भानुभक्तलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा झन् विचारणीय भएको छ। बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ। भानुभक्तका योगदानको स्मरणसागै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदै जानेछ।
भानु जयन्तिकै अवसरमा शुक्रबार वीरगन्जमा नारायणी वांग्मय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजले कविता वाचन प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रमको पनि आयोजना गरेको छ । बसपार्कमा भानुको मूर्ति अनावरण र माल्र्यापण गरेपछि प्रभातफेरी सहित होटल मकालुमा पुगेर औपचारिक कार्यक्रम भएको छ । कार्यक्रममा वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह लगायत विभिन्न साहित्यप्रेमी, साहित्य अनुरागीहरुको उपस्थिति रहेको छ ।