ठाकुरराम क्याम्पसको विषयमा बोल्नुपर्छ
वीरगन्ज, २८ असार । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस यहाँको शैक्षिक धरोहरको रुपमा रहेको छ । यसको इतिहास गर्विलो छ । तर, पछिल्लो समयमा यहाँको गतिविधिले ऐतिहासिक विरासत बोकेको क्याम्पसको छवि खराब हुदै गएको छ । यसको सुधारका लागि यहाँका सबै राजनीतिक दल, संघसंस्था, नागरिक समाज र यहाँका सबै तह तप्काका व्यक्तिहरुको नै मुख्य भूमिका रहन्छ ।
अहिले बीबीएस तेश्रो बर्षको परीक्षा केन्द्र वीरगन्ज भन्दा बाहिर सारिएको विषयमा विवाद बढेको छ । यही क्रममा एकजना विद्यार्थीको परीक्षा दिएर फर्किने क्रममा असार २५ गते मोटरसाईकल दुर्र्घटनामा मृत्यु भएको छ । एकजनाको गम्भीर अवस्थामा उपचार भईरहेको छ । यो घटनाले विद्यार्थी आन्दोलनलाई थप आक्रामक बनाएको छ ।
विद्यार्थीहरु आक्रोशित भएका छन् । ठाकुरराम बहुमुखी क्याम्पस पढाई कम र राजनीति बढी हुने स्थानको रुपमा परिचित छ । राजनीति नै सही तर त्यो राजनीतिक संस्कारलाई नै मर्यादित बनाउन सके भारतको जहावरलाल नेहेरु विश्वविद्यालयले उत्पादन गरेको जस्तो विद्यार्थीहरु उत्पादन गर्न सक्नु ठाकुरराम बहुमुखी क्याम्पसकै लागि गर्वको विषय बन्छ । तर, विडम्बना राजनीतिको नाममा यहाँ बढी अराजकता भयो ।
ठाकुुरराम बहुमुखी क्याम्पसमा अध्ययन गर्नेहरु प्रधानमन्त्री, मन्त्री, सचिव लगायतका उच्च ओहोदामा पुगेका छन् । तर, ठाकुररामले आफ्नो त्यो पहिचानलाई कायम राख्न नसकेर अहिले बाहिर नकारात्मक सन्देश मात्रै बढी गएको छ । जसले गर्दा परीक्षाकेन्द्र समेत सारिएको छ । तराई मधेसका मात्रै होईन मध्य नेपालका धेरै विद्यार्थीहरु ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने गरेका छन् ।
यहीबाट उच्च शिक्षा हासिल गरेका छन् । यहाँबाट उच्च शिक्षा हासिल गर्नेहरु अहिलेपनि धेरै सरकारी उच्च पदहरुमा कार्यरत रहेका छन् । तर, त्यहि ठाकुरराम बहुमुखी क्याम्पसको छवि भने अहिले नकारात्मक रुपमा फैलिदै गएको छ । यो कसको कारणले हो ? यसमा सबै पक्ष गम्भीर हुन जरुरी छ । किनभने यो पहिले ठाकुरराम बहुमुखी क्याम्पस भन्दापनि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस भनेर चिनिन्छ ।
यसमा स्थानीय तहको पनि ध्यानकार्षण हुन जरुरी छ । स्वायत्त संस्था त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भएपनि वीरगन्जमा स्थापित ऐतिहासिक विरासत बोकेको शैक्षिक धरोहर भएकोले यसमा स्थानीय तहको चासो हुनुपर्छ । यसअघि ठाकुरराम बहुमुखी क्याम्पसलमा स्ववियुको निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरु असफल भएका थिए । अहिले परीक्षा केन्द्रको विषयमा पनि राजनीतिक दलहरुको मौनताले पुनः एकपटक असफल हुने अवस्था छ । तर, नेपाली कांग्रेस पर्सा जिल्ला नेतृत्व बोलेको छ ।
ठाकुरराम बहुमुखी क्याम्पसमै अध्ययन गर्नुभएका र स्ववियु सभापति समेत भईसक्नु भएका वर्तमान नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीले विज्ञप्ति जारी गरेर क्याम्पसको विषयमा ध्यानार्षण भएको जनाउनु भएको छ । यो सकारात्मक सुरुवात हो । यहाँका सबै राजनीतिक दलहरुले ठाकुरराम क्याम्पसको विषयमा बोल्नुपर्छ ।
यहाँका उद्योगी व्यावसायीहरु बोल्नुपर्छ । नागरिक समाज बोल्नुपर्छ । युवा, विद्यार्थी, किसान सबै बोल्नुपर्छ । किनभने गरिब, विपन्न किसानका छोराछोरीलाई पढ्न सहज हुने क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस नै हो । यहि क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्न सके यहाँका विद्यार्थीहरुलाई बाहिर अध्ययनका लागि जानुपर्ने बाध्यता हुदैन ।
अभिभावकहरुलाई पनि चिन्ता हुदैन । यहाँको रकम पनि बाहिर जादैन । तर, त्यो विषयमा यहाँका विद्यार्थीका अभिभावक र विद्यार्थीमा त्यो सकारात्मक चेतको चाहिँ विकास हुन जरुरी छ । अहिले कांग्रेस मात्रै बोलेको छ । अब जसपा, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी, जनमत, लोसपा जति राजनीतिक दलहरु छन् सबै बोल्नुपर्छ ।
ठाकुररामको विरासतलाई जोगाउन र त्रिभुवन विश्वविद्यालयमा यस क्याम्पसलाई हेर्ने जुन नकारात्मक दृष्टिकोण छ, त्यसलाई हटाउनका लागि एक समूहिक छलफल र बहस जोडदारले चलाउनुपर्ने आवश्यकता छ । र सबैको एकमत हुन जरुरी छ । त्यसको पहलकदमी र अग्रसरता क्याम्पसले नै लिनुपर्छ ।