मोटरसाईकल दुर्घटनामा घाईते एकजनाको मृत्यु
माधव तिमिल्सिना
वीरगन्ज ६ असार । बीरगंज ठोरी हुलाकी सडक खण्ड अन्तरगत पर्ने ठोरी–४ , गोपीवस्ती नजिकै शनिबार साँझ भएको मोटरसाईकल दुर्घटनामा परी घाईते भएका एक युवकको मृत्यु भएको छ । शनिवार साँझ करीब ७ बजेतिर मालीवस्तीबाट विजयवस्ती तर्फ आइरहेको र विपरित दिशा विजयवस्तीबाट गोपीवस्तीतर्फ जाँदै गरेको २ ओटा मोटरसाइकल एक आपसमा ठोक्किदा त्यसमा सवार ठोरी ४ विजयवस्तीका करण महत्तो र गोपीवस्तीका हर्क लामा गम्भीर घाइते भएका थिए ।
घाईते मध्य २६ बर्षीय महतोको उपचारका क्रममा वीरगन्जको पानी टंकी स्थित एलएस न्यूरो अस्पतालमा गएराति नै मृत्यु भएको हो । तीब्र गतिमा रहेका ना ७ प ८८९३ र ना ४५ प ८१६० नम्बरको मोटरसाइकल नेवा पेट्रोल पम्पबाट करीब २ सय मिटर पुर्वतर्फको हुलाकी सडकमा एक आपसमा ठोक्किएको थियो। दुर्घटनमा परेर ना ७ प ८८९३ नम्बरको मोटरसाइकलमा सवार अन्दाजी २६ वर्षीय महत्तोको घुँडा र छातीमा गम्भीर चोट लागेको थियो ।
भने अर्का मोटरसाईकल चालक अन्दाजी ३१ वर्षीय लामाको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते दुबै जनालाई उपचारका लागि बीरगंजको ल्याइएको थियो । महतोलाई एलएस न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । लामाको स्पर्श मल्टिस्प्याशिलिट अस्पतालमा उपचार भईरहेको छ । हुलाकी सडक निर्माण भएयता बीरगंज ठोरी हुलाकी सडक खण्ड अन्तरगत पर्ने मालीवस्ती देखि विजयवस्ती सडक खण्डमा सवारी दुर्घटना हुने क्रम बढ्न थालेको स्थानीयहरु बताउँछन्।