नारायणी अस्पतालमा २५ मिनेटको फरकमा दुईजनाको मृत्यु
वीरगन्ज, ४ जेठ । वीरगन्जको नारायणी अस्पतालमा २५ मिनेटका फरकमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायाणी अस्पतालमा उपचाररत बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ का ४१ बर्षीय पुरुषको आज बिहान १ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
बैशाख २० गते अस्पतालमा ल्याईएको ती पुरुषको सोही दिन एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै रौतहटका राजपुर नगरपालिका वडा नम्बर १ बहुअर्वाका ६० बर्षीय पुरुषको पनि गएराति १ बजेर ३५ मिनेटमा मृत्यु भएको छ । बैशाख २८ गते अस्पतालमा भर्ना गरिएको उनको पनि एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बारा र रौतहटका दुवैजनाको गएराति २५ मिनेटको फरकमा नारायणी अस्पतालमा ज्यान गएको हो । हिजो बिहानदेखि साँझ सम्ममा नारायणी अस्पतालमा ७ जना, भवानी अस्पतालमा २ जना र वीरगन्ज हेल्थ केयर अस्पतालमा १ जनाको गरी १० जनाको मृत्यु भएको थियो ।