भारतीय सीमाक्षेत्रको बजार जाने सवारी साधनले अनुमति लिनुपर्ने आधिकारिक पुष्टि नहुँदा अन्योल
वीरगन्ज, १७ साउन । नेपाली चार चक्के सवारी साधनलाई भारतीय सीमाक्षेत्रको बजारमा जान भारतीय महावाणिज्य दूतावासको अनुमति लिनुपर्ने नियमको आधिकारिकता पुष्टि हुन नसक्दा नेपालबाट सवारी साधन लिएर भारत जानेहरुलाई अन्योल सृजना भएको छ । भारतीय सुरक्षाकर्मीहरुले माथिको आदेश भन्दै नेपालबाट भारत जाने सवारी साधनलाई फर्काउने गरेको छ ।
भारतीय सीमामा खटिएका सुरक्षाकर्मीका अनुसार भारतीय सीमाक्षेत्रमा जाने नेपाली चार चक्के सवारी साधनका लागि वीरगंजमा रहेको भारतीय महावाणिज्यदुतावासबाट पास लिनु पर्ने व्यवस्था गरिएको छ । हिजो महोत्तरीको जलेश्वर हुँदै भारत जाने सीमामा चारचक्के सवारी साधनलाई प्रवेश निषेध गरिएपछि वीरगन्ज नाकाबाट पनि रक्सोल प्रवेश गर्ने सवारी साधनलाई रोकेको जानकारी पाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बताउनुभयो ।
उहाँका अनुसार भारतीय युवकसँग प्रेममा परेर पाकिस्तानी युवती नेपालको बाटो हुदै भारत पुगेको सूचना भारतीय सुरक्षाकर्मीहरुले पाएपछि सीमाक्षेत्रमा अनाधिकृत व्यक्तिहरुको प्रवेश रोक्नका लागि कडाई गरिएको हो । तर, यसको आधिकारिक जानकारी भने आएको छैन । उहाँले भारतीय समकक्षी सीमा सुरक्षा बल एसएसबीलाई समेत यो विषयमा सन्देश पठाएको र त्यहाँबाट कुनै प्रतिक्रिया भने अहिले नआएको बताउनुभयो ।
वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका पोलिटिकल विङ्गका कन्सुलर शैलेन्द्र कुमारले पनि यो विषयमा केही अन्योलता सृजना गरेको र यसलाई सुधार गर्ने प्रयास भईरहेको बताउनुभयो । उहाँले यस विषयमा कुनै पत्राचार नभएपनि केही अन्योलता देखिएको भन्दै यसलाई स्पष्ट पार्न आफूहरु लागेको बताउनुभयो । उहाँले आज यो विषयमा सबै कुरा स्पष्ट हुने पनि बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपालाका प्रवत्ता सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले पनि यस विषयमा केही जानकारी नआएको बताउनुभयो उहाँले दुवैदेशहरुमा आवत जावत गर्ने सवारी साधनहरुले अनुमति लिनुपर्ने नियम रहेको बताउदै नेपालमा नियम कार्यान्वयनमा रहेपनि भारततर्फ पनि कार्यान्वयन गर्न लागेको हुनसक्ने बताउनुभयो ।