सुनकोशीको पानी मरिनमा खसाल्न चल्यो टीबीएम (फोटोफिचर)
२८ असोज, सिन्धुली । सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्न थालिएको छ । सुनकोशी-मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न थालेको हो । शुक्रबार अन्तरजलाधर जल स्थानान्तरण गर्ने कामको सुरुआत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा उर्जा, जलस्रोत तथा […]
२८ असोज, सिन्धुली । सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्न थालिएको छ । सुनकोशी-मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न थालेको हो ।
शुक्रबार अन्तरजलाधर जल स्थानान्तरण गर्ने कामको सुरुआत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागरकुमार भण्डारी, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक सुशिल चन्द्र तिवारीको उपस्थितिमा सुरुङ खन्ने काम सुरु गरिएको छ ।
अमेरिकी कम्पनी रोबिन्सले बनाएको टीबीएमले मरिनखोलातर्फबाट सुरुङ खन्न सुरु गरेको हो । यो भेरी-बबई डाइभर्सन परियोजनामा प्रयोग भएकै प्रविधि हो ।
ठेकदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै १३.३ किलोमिटरको सुरुङ खनिसक्ने गरी गरी तालिका बनाएको छ ।
सुनकोशी गाउँपालिका वडा नं. ७ कानढुङग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा डाइभर्सन संरचना निर्माण गरिने छ । सुनकोशी नदीको करीब ६७ क्यूमेक पानी सुरुङमार्फत मरिन खोलामा पुर्याइनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।
मरिनबाट बाग्मतीमा मिसिएको पानीलाई सिँचाइ आयोजनामार्फत मधेशमा सिँचाइ सुविधा पुर्याउने योजना छ ।
आयोजनामार्फत मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाहरुका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यो परियोजनाबाट ३१.०७ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने लक्ष्य पनि छ ।
टीबीएममार्फत ५.५ डायमिटरको सुरुङ रहने गरी ६.६ डायमिटरको सुरुङ खनिनेछ । यो वर्ष सरकारले राष्ट्रिय गौरवको यो आयोजनाका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २० फागुन २०७७ शिलान्यास गरेको राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन -नदी स्थानान्तरण) बहुउद्देश्यीय आयोजनामा अहिलेसम्म ८ प्रतिशतमा सकिएको छ ।
ठेक्का नलागी शिलान्यास गरिएको १०.०५ अर्ब लागतमा सुरुङ खन्न ठेक्का लागेको थियो । हेडवर्क्ससहित यो आयोजना सक्न ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
आयोजनाको हेडवक्र्सको ठेक्का लगाउन पनि तयारी भइरहेको छ । यसमा ११ ठेकदार कम्पनी प्रि-क्वालिफाइड भएका छन् ।
आयोजनाले बाग्मती सिँचाइ आयोजनाको सुधार र विस्तार गर्न आयोजनाले परामर्शदाता छनोट गरेर अध्ययन गरिरहेको छ । पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।
यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको छ । बागमती प्रदेशको जलस्रोतलाई मधेश प्रदेश पुर्याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने सरकारको दाबी छ ।