पर्साको ग्रामीणक्षेत्रमा व्यापक तस्करी
कृष्णमोहन साह
वीरगन्ज, २८ असोज । चाडपर्व नजिकिए संगै पर्साको ग्रामीण भेगमा फेरि लागु औषधको तस्करीमा बृद्धि भएको छ । महादेवपट्टी, निर्मलवस्ती, विजयवस्ती, ओडार, पटेर्वा, अकुवनिया, सथवल, सोनवर्सा, शंकरसरैया र सखुवनीया लागूऔषध गाँजा र चरेशको तस्करीको केन्द्रको रुपमा स्थापित हुँदै गएको स्थानीयवासीले बताएका छन् ।
त्यस क्षेत्रमा दिनहुँ भरिया मार्फत मकवानपुर जिल्लाको विभिन्न स्थानबाट गाँजा र चरेश खरीद गरी गाँजा ल्याउने गरेका छन । कारोबारीहरुले चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुञ्जको बाटो हुँदै पर्साको महादेवपट्टी, निर्मलवस्ती, विजयवस्ती, ओडार अकुवनिया पटेर्वा, सथवल सोनवर्सा, शंकरसरैया र सखुवनीयामा ल्याएर भण्डारण गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।
पर्साको ग्रामीण भेगमा भण्डारण गरिएको लागू औषध गाँजा र चरेश विसुनपुर्वा, पाँडेपुर, जानकीटोला, दसौता, माहादेव, पिपडारीहुँदै भारततर्फ तस्करी भईरहेको स्थानीयवासीले बताएका छन् । त्यसक्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा गाँजा र चरेशको तस्करी फस्टाएको स्थानीयवासीले आरोप लगाएका छन् ।
पर्सा प्रहरीले सुरक्षा चेकजाँचमा कडाई गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवत्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले तस्करीमा संलग्न भरियाहरुमात्रै फेला पर्ने गरेको वास्तविक कारोबारीसम्म पुग्नलाई पक्राउ परेका भरियाहरुले नै बयान नदिँदा समस्या हुने गरेको बताउनुभयो ।
उहाँले अहिले निर्वाचनको सुरक्षाका लागि सुरक्षाकर्मी केन्द्रीत भएकोले तस्करी नियन्त्रणमा पनि कडाई गरिएको बताउनुभयो । यसलाई नियन्त्रण गर्नका लागि अझै प्रभावकारी सुरक्षा गस्ती बढाईने पनि उहाँले बताउनुभयो ।