विभिन्न कार्यक्रमको आयोजना गर्दै देशभर कानून दिवस मनाईदै
वीरगन्ज, २६ बैशाख । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिन आज देशभर कानून दिवस मनाईदै छ । कानुन दिवसको अवसरमा आज देशभर नै विविध कार्यक्रम आयोजना गरिँदै छ । २००८ मा बनेको प्रधान न्यायालय ऐन, वि.सं २००९ वैशाख २६ गतेबाट नेपालमा लागू भएको थियो ।
कानून लागू भएको दिन वैशाख २६ गतेको दिनलाई प्रत्येक वर्ष कानुन दिवसका रूपमा मनाउने गरिएको छ । नेपालको न्यायालयको सर्वोच्च निकाय सर्वोच्च अदालतले प्रत्येक वर्ष कानून दिवस मनाउने गरेको छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।
सोमबार मात्रै नेपालका प्रधानन्यायधीशमा कायम मुकामय प्रधानन्यायधीश हरिकृष्ण कार्की सिफारिस हुनुभएको छ । कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
यसबर्ष पनि मंगबार दिउँसो २ बजे उक्त शुभकामना कार्यक्रम गरिँदै छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।