नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल मधेस प्रदेशको बार्षिकोत्सव सम्पन्न
वीरगन्ज, १८ पुष । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलीकम मधेस प्रदेश समितिको १६ औ वार्षिकोत्सव वीरगन्जमा सम्पन्न भएको छ । वीरगन्जको श्रीपुर स्थित प्रदेशिक निर्देशनालयमा आयोजित साधारणसभाको प्रमुख अतिथि नेपाल टेलिकम मधेस प्रादेशिक निर्देशनालय वीरगन्जका निर्देशक अनन्त प्रकाश मल्लिकले उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरु नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सचिव गणेश बहादुर नेपाली, केन्द्रीय सदस्यहरु राम गुलाम साह, हरिशंकर ठाकुर, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एहसान अन्सारी लगायतले बार्षिकोत्सवको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल टेलिकम सरकारी स्वामित्वको सेवा प्रदायक भएपनि निजी सेवा प्रदायकले जस्तो सेवा दिन नसकिरहेको र यसको गुणस्तर र सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलीकम मधेस प्रदेशका अध्यक्ष सुरेश प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन भूपु केन्द्रीय सदस्य महादेव शर्माले गर्नुभएको थियो । कार्यक्रममा संगठनका आठवटै जिल्लाका प्रतिनिधिहरु तथा विभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।