चिकेन स्टेशनलाई कारवाही गर्न मधेसी आयोगको गृहमन्त्रालयलाई पत्राचार
भूलबस सामाजिक सञ्जालमा पोष्ट भएको चिकेन स्टेशनको स्पष्टोक्ति
वीरगन्ज, १३ चैत । मधेसी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । हिन्दु परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुट सम्बन्धी सामाजिक सञ्जाल मार्फत प्रचार गरेपछि विभिन्न हिन्दु संघ सङ्गठनहरूले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारबाही गर्नको लागि उजुरी दर्ता गराएका थिए ।
सो उजुरी प्राप्त भएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेसनलाई कारबाही गर्न पत्राचार गरेको छ । आयोगका अध्यक्ष डा।दत्तले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरूले पूजा गर्ने गाईको मासु बेच्नु गैर(कानुनी क्रियाकलाप रहेको बताउँदै आयोगले यो विषयमा तुरुन्त कारबाही गर्न गृहलाई पत्र पठाइएको बताएका छन् ।
अध्यक्ष डा।दत्तले यस्ता गैर(कानुनी काम गर्ने जोसुकैलाई पनि आयोगले कानुनी दायरामा ल्याई कारबाही गरिने जानकारी दिएका छन् । आयोगले सामाजिक सञ्जाल फेसबुकमा मो.कबिर नाम गरेको व्यक्तिले हिन्दु धर्मका देवी देवताहरू माथि अपशब्द प्रयोग गरी सम्पूर्ण हिन्दु धर्मावलम्बीहरू माथि प्रहार गर्नेलाई समेत कानुनी दायरामा ल्याई तुरुन्त कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ ।
पत्राचारको परिपत्र आएको छैन : प्रमुख जिल्ला अधिकारी रेग्मी
मधेसी आयोगले गृहमन्त्रालयमा पठाएको पत्रको बारेमा अहिलेसम्म परिपत्र नआएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । गृहमन्त्रालयमा आयोगले कारवाहीको लागि पत्र पठाएको भएपनि गृहमन्त्रालयबाट पर्सामा कुनै किसिमको परिपत्र नआएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो ।
धर्म, संस्कृति र मर्यादाप्रति सचेत छौ : चिकेन स्टेशन व्यावस्थापन
चिकेन स्टेशनले भूलबस सामाजिक सञ्जालमा पोष्ट भएको भन्दै क्षमा याचना गरेको छ । सामाजिक सञ्जाल मार्फत पनि क्षमा याचना गरेको चिकेन स्टेशनले सामाजिक सञ्जालनमा पोष्ट भएको विषयमा व्यापक विरोध भएपछि सोमबार पत्रकार सम्मेलन गर्दै चिकेन स्टेशनले सामाजिक संजालमा भुलबस पोष्ट हुन गएको सामग्री प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा भुलबस पोष्ट हुन गएको समाग्री प्रति चिकेन स्टेशन क्षमायाचना गर्दै वीरगंज महानगरपालिका वडा नं. ६ स्थित लोहारपट्टि गल्लीमा रहेको चिकेन स्टेशनका कर्मचारीले विज्ञापन गर्ने क्रममा भुलबस हुन गएको र समाग्री पोष्ट गर्ने बारेमा कल्पना पनि गर्न नसक्ने र धर्म, संस्कृति प्रति प्रतिबद्ध रहेको पनि जनाएको छ ।
चिकेन स्टेशनमा शाकाहारी र मांसाहारी ग्राहकका लागी छुट्टा–छुट्टै भान्सा समेत राखेको भन्दै कर्मचारीले खानाको परिकारहरुको सम्बन्धमा प्रचारप्रसारका लागि चुकुन्दरको कवाब सम्बन्धी पोष्ट गर्दा अंग्रेजीमा स्पेलिंग (लेखाइ)मा अन्यथा हुन गएकोले त्यसलाई सच्याईएको जनाएको छ ।
चिकन स्टेशन वीरगंज फेसबुक पेजमा संयोगवश प्रकाशित भएको अघिल्लो पोस्टको याचना गर्दै यसले भ्रम वा अपराध निम्त्याउन सक्ने स्वीकार गर्दै त्रुटीको पूर्ण जिम्मेवारी लिने पनि जनाएको छ । साथै भविष्यमा यस्तो गल्ती नदोहोरियोस् भनेर सचेतनाका साथ पहलकदमी लिइरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा आमनागरिक र शुभचिन्तकहरुको समर्थन र विश्वासको कदर गर्दै भुलबस हुन गएको विषयमा माफी दिने पनि विश्वास व्यक्त गरेका छन् । उपरान्त कुनै किसिमको आशंका भए जति बेला पनि परिक्षण गर्न आग्रह गर्दै हिन्दु सनातन हिन्दु धर्मको मर्यादा प्रति सजग एवं सचेतका साथै गम्भिर रहेको पनि जनाएको छ ।