पर्सामा जाग्यो वाईसियल, ठोरीमा प्रशिक्षण
वीरगन्ज, ४ चैत । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) जुर्मुराएको छ । सशस्त्र युद्धबाट शान्ति प्रकृयामा आएपछि माओवादी केन्द्रका नेता कार्यकर्ताहरुलाई चौतर्फी धेराबन्दी गर्न थालेपछि र देशमा भ्रष्टाचारले चरम सीमा पार गरेपछि त्यसको विरुद्ध गठन गरिएको संगठनले विभिन्न सुशासन र भ्रष्टाचार न्यूनीकरणका लागि खबरदारी गर्दै आएको छ ।
पर्सा जिल्लामा पार्टीसँगै कमजोर बनेको संगठनमा नेतृत्व परिवर्तन पछि सक्रिय हुन थालेको छ । शनिबार वाईसियल पर्साले पर्साको ठोरीमा प्रशिक्षण सम्पन्न गरेको छ । जनताको जनजीविकाको सवाल र सरकारले दिने सेवा सुविधाहरु चुस्त दुरुस्त र गुणस्तरीय बनाउन सहयोगी भूमिका निर्वाह गर्नका लागि संगठनका कार्यकर्ताहरुलाई प्रशिक्षण दिईएको वाईसियल नेपाल पर्साका संयोजक दीपेन्द्र सिंह पटेलले जानकारी दिनुभयो ।
एकले अर्काको नेतृत्व अस्वीकार गर्ने नेताहरुको प्रवृत्तिका कारणले कमजोर बनेको नेकपा माओवादी केन्द्र पार्टीका भातृ संगठनहरु भने विस्तारै संगठनलाई बलियो बनाउदै गएका छन् । वाईसियल नेपालले १४ वटै पालिकामा संगठनलाई पुर्नगठन गर्ने अभियानलाई तीब्रता दिने क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १४ को इकाई कमिटि गठन गरी सोही कमिटिको आयोजनामा पर्साको पर्यटकीय स्थल ठोरीमा प्रशिक्षणको आयोजना गरिएको हो ।
शनिबार ठोरीमा आयोजित प्रशिक्षणमा वाईसियलले बोकेको इतिहास, जनयुद्धको उपलब्धी, शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुयाउने र नेतृत्वमाथि हुने हमलाको प्रतिकार गर्ने गरी जनजागरण फैलाउन कार्यकर्तालाई निर्देशन दिईएको छ । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १४ का वडा अध्यक्षका प्रत्यासी फत्ते आलमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका ठोरी गाउँपालिकाका इन्चार्ज हरि बहादुर सुनार र वाईसियल पर्सा संयोजक दीपेन्द्र सिंह पटेलले प्रशिक्षण दिएको थियो ।
कार्यक्रममा ठोरी गाउँपालिकाका पार्टी सचिव राम श्रेष्ठ वडा नम्बर ५ का वडा अध्यक्ष अष्ट बहादुर लोप्चन, वाईसियल केन्द्रीय सदस्य सन्ध्या बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पर्सागढी नगरपालिका सचिव विक्रम कार्कीले गर्नुभएको थियो ।