प्रहरी महानिरीक्षकमा वसन्तराज कुवँर नियुक्त
काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको छ । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य लगायतका प्रतिष्पर्धीहरुलाई पछि पारेर आईजीपी बढुवामा पर्नुभएको हो ।
वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो । सरकारले प्रहरी संगठनको प्रमुखमा यसपटक निर्विवाद नियुक्त गरेको छ । हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
बढुवा भएपछि महानिरीक्षक धिरजप्रताप सिंहसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एआईजी बढुवा विवादरहित भएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा डीआईजी बढुवा गरेपछि कुँवर वरियतामा अगाडि आएका थिए ।
एआईजी बढुवासम्म आइपुग्दा उमेर विवादका कारण अर्का दाबेदार अशोक सिंहले राजीनामा दिएपछि उनी महानिरीक्षकका लागि बलियो प्रतिष्पर्धी बन्नुभयो । कुँवर प्रहरी नायब महानिरीक्षक छँदा मधेश प्रहरी प्रमुख हुनुहुन्थ्यो । एसएसपी छँदा उहाँले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व समेत गर्नुभएको थियो ।