चार विद्यालयका ८२ जना विद्यार्थीको परीक्षा महानगरद्वारा रद्द
वीरगन्ज, १० चैत । वीरगन्ज महानगरपालिकाले वीरगन्जका चारवटा संस्थागत विद्यालयका ८२ जना विद्यार्थीको शुक्रबार भएको विज्ञान विषयको परीक्षा रद्द गरेको छ । महानगरमा सञ्चालित कक्षा ८ को महानगरस्तरीय परीक्षामा अनाधिकृत परीक्षा केन्द्रमा लिईएको परीक्षा महानगरपालिकाले रद्द गरेको हो ।
बुधबारदेखि शुरु भएको कक्षा ८ को महानगरस्तरीय परीक्षाको शैक्षिक प्रशासन महाशाखाको टोलीले अनुगमन गर्ने क्रममा अनाधिकृत परीक्षा केन्द्रमा परीक्षा दिईरहेका चारवटा (संस्थागत) निजी विद्यालयका ८२ जना विद्यार्थीको उत्तरपुस्तिका नियन्त्रणमा लिएर परीक्षा रद्द गरेको हो । ती ८२ जना विद्यार्थीले बीरगन्ज महानगरपालिका–७ स्थित माईस्थान बालविद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा अनाधिकृत रुपमा कक्षा ८ को परिक्षा दिईरहेको पाएपछि उत्तरपुस्तिका नियन्त्रणमा लिएर रद्द गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताउनुभयो ।
संस्थागत विद्यालयहरु ग्रीनल्याण्ड माविका ४७ जना, असीम माविका १७, एपेक्स इन्टरनेशनल स्कुलका ७ र सालोम माविको १२ जना विद्यार्थीको उत्तरपुस्तिका नियन्त्रणमा लिएर शुक्रबारको विज्ञान विषयको परीक्षा रद्द गरेको छ । परीक्षा निर्देशिका पनि नपढी परीक्षा केन्द्र नै नतोकिएको परीक्षा केन्द्रमा परीक्षा लिएको हुँदा कानून विपरित भएकोले उत्तरपुस्तिका नियन्त्रणमा लिएर रद्द गरिएको हो कर्णले बताउनुभयो ।
चारवटा निजी विद्यालयहरुलाई आ–आफ्नो विद्यालयमा परीक्षा लिनुपर्ने परीक्षा निर्देशिका भएपनि आफ्नो विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तरको विकास गर्न चारवटा विद्यालयले एकै ठाउँमा परीक्षा लिने गरेको भएपनि महानगरपालिकाको कानून विपरित भएकोले नियन्त्रणमा लिनुपरेको कर्णको भनाई छ । शुक्रबार विज्ञान विषयको परीक्षा दिएका उनीहरुको महानगर स्तरीय परीक्षा समितिको बैठकले परीक्षा रद्द गरी १५ गते पुनः परीक्षा लिने निर्णय गरेको छ ।
त्यस्तै चारवटै विद्यालयका केन्द्राध्यक्षहरुलाई निलम्बन गरि सहायक केन्द्राध्यक्षहरुलाई नियमित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिइएको र केन्द्राध्यक्षहरुलाई भने स्पष्टिकरण सोधिने महाशाखा प्रमुख कर्णले बताए । १५ गते हुने परीक्षाको सम्पूर्ण खर्च पनि चारजना केन्द्राध्यक्षहरुले व्यहोर्नुपर्ने निर्णय गरेको छ । वीरगन्ज महानगरमा आधारभूत तह कक्षा ८ को परीक्षामा सामुदायिक तर्फको ३४ विद्यालयका तीन हजार चार सय ५० विद्यार्थी र संस्थागत ( निजी ) तर्फको ८३ विद्यालयको २ हजार ४ सय १२ जना विद्यार्थी सहित कुल पाँच हजार ८ सय ६२ विद्यार्थी सहभागी छन् ।