रौतहटमा चट्याङ खस्दा एकै परिवारका तीनजनाको मृत्यु 

रौतहटमा चट्याङ खस्दा एकै परिवारका तीनजनाको मृत्यु 

काठमाडौं, १४ भदौ । रौतहटको मलाही टोलमा चट्याङ खस्दा ३ जनाको मृत्युभएको छ । एकजना घाइते भएका छन् । रौतहटको गरुडा नगरपालिका–३ मलाहिटोलमा चट्याङ लागेर एकै परिवारको ३ जनाको मृत्युु भएको छ ।

मंगलबार बिहान खसेको चट्याङले गरुडा नगरपालिका–३ बस्ने रुपनरायाण सहनीको ३९ बर्षीया श्रीमती सुदनिया देवी, छोरी १७ बर्षीया जगिया कुमारी र सोही स्थान बस्ने सत्य नारायण सहनीकी छोरी १८ बर्षीया मनिषा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

स्थानीय सरोज सहनीको धान खेतमा काम गरिरहेको अवस्थामा मंगलवार बिहान करिब ८ बजेको समयमा खसेको चट्याङ लागेर गम्भीर घाईते भएका सबैलाई गरुडा स्थित सिटि हस्पिटलमा ल्याईएको थियो । अस्पताले तीनै जनालाई मृत घोषणा गरेको छ । सँगै काम गरिरहेकी स्थानीय सत्य नारायण सहनीकी श्रीमती ४० बर्षीया सहेली देवी भने घाईते हुनु भएको छ ।

उहाँको सिटी हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टम पछि दाहसंस्कारका लागि आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।