चालू पुँजी मार्गदर्शन २०७९ को तरंग 

व्यावसायी भन्छन् : राष्ट्रबैंक बैंकको सर्कुलरले उद्योग बन्द हुनसक्छ

चालू पुँजी मार्गदर्शन २०७९ को तरंग 

वीरगन्ज, १४ भदौ । नेपाल राष्ट्र बैंकले चालू पुँजी मार्गदर्शन २०७९ ले निजीक्षेत्रमा तरंग उत्पन्न गरेको छ । चालू पुँजीको मार्गदर्शन अनुसार अब उद्योग व्यावसाय बन्द गर्नुपर्ने अवस्था रहेको उद्योगी व्यावसायीहरुको भनाई छ । उनीहरुले राष्ट्र बैंक बैंकहरुको नियमनकारी निकाय भन्दा बजार नियन्त्रणमा बढी केन्द्रीत भएको निजीक्षेत्रले गुनासो गरेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नियमन गर्नुभन्दा बजार नियन्त्रणमा चासो देखाएको भन्दै बजारमा चालू पुँजी अभावले आर्थिक संकट आउन सक्ने संभावना औंल्याएका छन् ।

नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेश र इकोनोमिक रिपोर्टस एशोसिएसन (इरा) ले आयोजना गरेको नेपाल राष्ट्र बैंकले चालू पूँजी मार्गदर्शन २०७९ सम्बन्धी अन्तरसम्वाद कार्यक्रममा सहभागी उद्योगी व्यावसायीहरुले नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको चालू पुँजी मार्गदर्शन २०७९ का व्यवस्थाले बजारमा थप तरलताको अवस्था सृजना हुने बताएका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले राष्ट्र बैंकले पटक पटक जारी गर्ने सर्कुलरले उद्योगी व्यावसायीहरुलाई चिन्तित बनाएकोले यसको समाधानको खोजी गर्न वीरगन्जका बैंकर्सहरुसँग अन्तरसंवाद मार्फत पनि राय सुझाव लिईएको बताउनुभयो । 

अन्तरसंवादमा सहभागीहरुले राष्ट्रबैंकले जारी गरेको मार्गदर्शनले उद्योग व्यावसाय क्षेत्रमा थप असर पर्ने र यसले समग्र अर्थतन्त्रलाई नै प्रभावित बनाउन सक्ने संभावना रहेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । राष्ट्र बैंक बैंकहरुको नियमकारी निकाय भन्दा बजार नियन्त्रणमा बढी चासो देखाएको बताउनुभयो । 

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक टेमानीले नेपालमा उधारो असुलको नीति नहुँदा उद्योगीहरुको पैसा बजारबाट समयमा उठ्न नसकेर व्यापारमा समस्या सृजना हुने गरेको बताउनुभयो । ‘बैंकर्सको पैसा उठाउने धेरै नियमहरु छन्’ उहाँले भन्नुभयो ‘नेपाल सरकार र अरु कुनैपनि संस्थासँग उधारो उठाउने नीति नै छैन । सरकारले उधारो उठाउने नीतिलाई सम्बोधन गर्न आवश्यक छ ।’

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले चालू पुँजी खर्चको मात्रै होईन एक महिनापछि फेरी अर्को सर्कुलर आउन सक्ने बताउनुभयो । यस्ता विसंगती व्यापारमा आउनु बैंकर्सको पनि भूमिका रहेको र यसको अनुगमन भएको भए समस्या नहुने दावी गर्नुभयो । बैंकहरुले आयोजना हेरेर लगानी नगरी व्यक्ति हेरेर लगानी गरेको भएर समस्या आएको बताउनुभयो । 

केडियाले भन्नुभयो, “प्रोजेक्ट राम्रो भएको र काम गर्ने व्यक्तिहरुले सहज रुपमा कर्जा पाउदैन । तर, एउटा कुनै ठूलो औद्योगिक घराना छ भने उसले तुरुन्तै कर्जा पाउने अवस्था छ ।” उद्योगी प्रकाश खण्डेलवालले राष्ट्र बैंक बैंकर्सहरुको नियमनकारी निकाय भएपनि बजारको लागि जस्तो मात्रै देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ नयाँ नियमहरु ल्याएका छन् । नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक कुरा गर्नेहरु मात्रै छ । व्यावहारिक विषयहरु बुझ्ने व्यक्तिहरु नै छैन । व्यावहारिक कुरा नीति नियम बनाउने तहमा बजारका व्यक्तिहरुलाई पनि सहभागि हुनुपर्छ । तर, बजारका व्यक्ति भएपछि हाम्रो मुलुुकको नियमनकारीको लागि अविश्वसनीय हुन्छ ।’ 

उद्योगी व्यवसायीहरुले पैसा लिएर घरमा नथुपारेको बताउदै खण्डेलवालले कर्जा लिएर बजारमा नै लगानी गरिएकोले बजारमै पैसा रहेको बताउनुभयो । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुवोध गुप्ताले बैंक र उद्योगी व्यावसाय निजीक्षेत्र एउटै डुंगामा यात्रा गरिरहेको बताए ।

बैंकर्सले कति गल्ती गरेको छ । उद्योगी व्यवसायीहरुले कति गल्ती गरेको छ ? दुवैको विश्लेषण गरेर सुधारतर्फ जानुपर्नेमा जोड दिन्ुभयो । व्यापारी निराश हुन नहुने तर्क गर्दै बजार अहिले निकै संवेदनशील अवस्था रहेकोले अर्थमन्त्रालय, राष्ट्र बैंक लगायतका निकायहरुसँग निरन्तर छलफल आवश्यक रहेको बताउनुभयो ।