सरकारी शिक्षक र जनप्रतिनिधि नै चक्रीय ब्याज असुली धन्दामा

७३ बर्षीया सुनैनादेवीसँग १४ लाख लिएर ४२ लाखको तमसुक बनाए 

सरकारी शिक्षक र जनप्रतिनिधि नै चक्रीय ब्याज असुली धन्दामा

वीरगन्ज, १५ भदौ । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर २ सोनरनियाकी ७३ बर्षीया वृद्धा सुनैनादेवी यादव बुधबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा मलिनो अनुहारमा उपस्थिति हुनुभयो । उमेरले तीनबीस भन्दा माथि कटेकी सुनैनादेवी कुनै रहर र हर्षले महासंघमा उपस्थित हुनुभएको भने होईन ।

चक्रीय ब्याज (मिटर ब्याज) का सुदखोरहरुले दिएको दुःख सञ्चारकर्मीलाई सुनाउन आउनु भएको थियो । बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ भटिनिया घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ५ घुमसुकपुर बस्ने सरकारी विद्यालयका शिक्षक अनिल कुमार प्रियादर्शी र सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कोचर्वा बस्ने वडा अध्यक्ष राम दिनेश प्रसाद यादव विरुद्ध आफूलाई लिएको ऋण भन्दा पाँचगुणा बढी रकम ठगी गरेको मुद्दा दायर गरेको जानकारी गराउनुभयो ।

प्रियादर्शी र यादव दुवैजनाको मिलेमतोमा आफूले दिएको रकम भन्दा पाँचगुणाबढीको कपाली तमसुक बनाउन लगाएर रकम ठगी गरेको सुनैनादेवीको दुखेसो छ । त्यहि दुखेसो लिएर ७३ बर्षीया सुनैनादेवी बुधबार महासंघमा पत्रकार सम्मेलन गर्न आउनु भएको थियो ।

२०७६ सालमा घर व्यवहारका लागि पैसा आवश्यक परेपछि स्वजातीय नाता सम्बन्धले प्रियादर्शीसँग १४ लाख रुपैंया रकम लिएकोमा त्यसको सावाँ ब्याज एकबर्ष मै ४२ लाख भएको सुनैनाका छोरा दयाशंकरसँग कपाली तमसुक बनाउन लगाएका थिए । कपाली तमसुक बनाएको एकहप्तापछि त्यो तमसुक पनि काम नलाग्ने भन्दै चार थान चेकमा सही गरेर देउ भनेर ६ वटा चेकमा सही गराई प्रियादर्शी र यादवले लिएका थिए ।

१४ लाखको  ७० लाखको ब्याज र ब्याजको पनि ब्याज जोडेर दयाशंकरसँग नगद पैसा लिएको दावी गरे । उनीहरुले पैसा लिएको भ्वाईस रेकर्ड र सीडीमा समेत सुरक्षित रहेको उनीहरुले बताए । सुनैनादेवी मात्रै होईन यस्ता धेरै व्यक्तिहरु सुदखोरबाट पीडित भएका छन् ।

गृहमन्त्रालयले सुदखोरहरुलाई कारवाही गर्नका लागि मिटर ब्याजी समस्या छानविन कार्यदल नै गठन गरेर देशभरबाट उजुरी संकलन गर्न खटाएको छ । गृहमन्त्रालयका सहसचिव डाक्टर भीष्म कुमार भुषालको संयोजकत्वमा गठन भएको कार्यदलले पूर्वदेखि पश्चिमसम्म उजुरी संकलन र अन्तकृया पनि गरेको छ ।

यसबीचमा बारा र पर्सामा ४० जना विरुद्ध उजुरी पनि परेको छ । साहु महाजन बनेर बाध्यता र विवशताको फाईदा उठाउदै सुदखोरहरुले मधेसका कयौं नागरिकको बिल्लीबाठ बनाएको छ ।