वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहको १०० दिन
केही पूराना कामलाई निरन्तरता, केही नयाँ कामको शुरुवात
वीरगन्ज, १७ भदौ । वीरगन्ज महानगरपालिकामा स्थानीय सरकार प्रमुखको रुपमा राजेशमान सिंहले जिम्मेवारी सम्हाले एकसय दिन पूरा भएको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनबाट नगर प्रमुखमा विजयी भई महानगरपालिकामा पदभार ग्रहण गरेको एकसय दिनको अवधिमा आफूले गरेको कामहरुको उपलब्धि शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभएको छ ।
महानगरपालिकामा नेतृत्व सम्हालेको एकसय दिन पूरा गर्दा २४ वटा मुख्य उपलब्धि सहितको बुँदागत उपलब्धि सार्वजनिक गरेको छ । महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले जेठ १२ गते पदभार ग्रहण गरेपछि महानगरपालिकामा भएका प्रगतिको विषयमा जानकारी दिदै सपथ ग्रहण गरे लगत्तैदेखि आफूले काम शुरु गरेको बताउनुभयो ।
सपथ ग्रहण पश्चात वीरगन्जको मुख्य चोक घण्टाघरदेखि माईस्थानसम्मको सडक निर्माणको काम थालनी गरेको, त्यसपछि विस्तारै महानगरपालिकामा रहेका वेथितिहरुको अन्त्यका लागि काम गरेको दावी गरे । सामान्यतः एकसय दिनलाई कसैले टिकाटिप्पणी नआउने समयका रुपमा लिने र कसैले आगामी दिनमा गरिने कामको पूर्वा तयारीका रुपमा लिने स्पष्टिकरण दिदै महानगरपालिकाले सय दिनको अवधिलाई कार्यकालको बाँकी समयकै निरन्तरताको रुपमा लिएको जनाएको छ ।
महानगरपालिकाले केही पूराना कामलाई निरन्तरता र केही नयाँ कामको शुरुवात गरेको छ । महानगरपालिकाको उपलब्धिको पहिलो नम्बर बुँदामा विभिन्न बहानामा सेवाग्राहीसँग रकम असुल गर्ने गलत अभ्यासको पूर्णरुपमा अन्त्य गरेको दावी गरेको छ । सेवाग्राहीलाई कागजात नपुगेको अवस्था बाहेक गलत नियत राखी अल्झाउने र पर्खाउने प्रवृत्तिको अन्त्य गर्दै छिटो र छरितो सेवा प्रदान गर्न शुरु गरेको जनाएको छ ।
त्यस्तै कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाई समेत समान वातावरण र व्यवहारको अनुभूति दिनाउन सेवाग्राहीहरुलाई वातानुकुलित प्रतिक्षा कक्ष, खानेपानीको व्यावस्था, सीसीटीभी जडान, कार्यालयको सबै फाँटमा इन्टरकम टेलिफोनको व्यावस्था लगायत सेवाहरु उपलब्ध गराएको महानगरपालिकाले जनाएको छ ।
प्रत्येक वडाहरुमा वडा सचिव र सहायक सचिवको व्यावस्था, प्रविधिमैत्री बनाउने, सवारी व्यावस्थापन कर खारेज, सम्पूर्ण करमा पुनरावलोकन गरी घटाईएको, १० हजार घरधुरीको घरेलु मिटरमा अधिकतम ३० युनिट र महानगर भित्रका ४ सय ७० कृषि मिटरको सम्पूर्ण विद्युत खपतको भुक्तानी महानगरपालिकाले दिने व्यावस्था गरेको नगर प्रमुखले बताउनुभयो ।
धार्मिक स्थलको सौन्दर्यकरण अन्तर्गत गहवामाई मन्दिर अगाडि सडक तथा पेटीमा युरोपियन स्ट्याण्डर्डको पेवर्स ९इन्टरलक० लगाउने, मन्दिरलाई आधुनिक वक्तिबाट सजाउने, घण्टाघर र शंकाराचार्य गेटलाई पनि डिजिटल लाईटीङ गरिने महानगरको तयारी रहेको छ ।
शिक्षा क्षेत्रमा विद्यार्थीलाई छात्रवृत्ति वितरणको विषयमा विगतमा एउटा कलेजमा भर्ना हुने र अर्कै कलेजमा छात्रवृक्ति प्राप्त हुँदा समस्या देखिएको र अहिले जुन कलेजमा भर्ना हुने हो सोही कलेजमा नै छात्रवृत्ति उपलब्ध गराउने व्यावस्थाको शुरुवात गरेको छ । कक्षा ९ र ११ को छात्रवृत्तिका लागि महानगरपालिकाले परीक्षा लिने र अन्यको हकमा विद्यालयले नै परीक्षा लिने व्यावस्था मिलाईए जनाएको छ ।
शिक्षा क्षेत्रमा देखिएको समस्याका लागि दीर्घकालिन समाधानका लागि शिक्षा समितिलाई पूर्णता दिएर विद्यालय स्तरीकरण, शुल्क निर्धारण उपसमिति गठन, महानगरलाई प्राविधिक शिक्षालाई जोड दिन सीटीईभीटीसँगको सहकार्यमा टेक्निकल कक्ष तथा आंगिक अर्थात पूर्ण प्राविधिक विद्यालय स्थापनको समेत पहल गरिएको महानगरपालिकाले जनाएको छ ।
पूर्व महानगर प्रमुख विजय कुमार सरावगीले शुरु गरेको मेयर स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिदैँ महानगरवासीलाई स्वास्थ्य सेवा घरघरमा पु¥याउनका लागि वडामा स्वास्थ्यकर्मी र प्रयोगशाला सहितको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सञ्चालन, योग शिविर लगायतको कार्यक्रम शुरु गर्ने तयारी गरेको छ ।
वीरगन्जको वृहत्तर विकासका लागि वीरगन्ज विकास प्राधिकरण गठन गर्ने पनि निर्णय भएको नगरप्रमुख राजेशमान सिंहले बताए । वीरगन्ज विकास प्राधिकरणको गठन नयाँ कार्यक्रम हो । जुन चालू आर्थिक बर्षको बजेटमा मधेस प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरण र जनकपुर विकास प्राधिकरण दुईवटा प्राधिकरण गठन गर्ने घोषणा गरेको छ । यसको लागि ३० करोड बजेट समेत व्यावस्था गरेको छ ।