पर्साको पकाहामैनपुरका अध्यक्ष चौरसियाद्वारा दोश्रो पटक निषेधज्ञा उल्लंघन, प्रमुख जिल्ला अधिकारी बने निरीह 

पर्साको पकाहामैनपुरका अध्यक्ष चौरसियाद्वारा दोश्रो पटक निषेधज्ञा उल्लंघन, प्रमुख जिल्ला अधिकारी बने निरीह 

वीरगन्ज, ३ असार । पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय कुमार चौरसियाले फेरी निषेधाज्ञाको उल्लंघन गरेका छन् । कोरोना संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि अहिले पर्सामा जिल्लमा असार ६ गतेसम्म निषेधाज्ञा कायम छ । निषेधाज्ञाको समयमा भेला, सभा तथा कुनैपनि कार्यक्रम गर्न रोक लगाइएको छ ।

तर, पकाहामैनपुर गाउँपालिकाले भने दोश्रो पटक निषेधाज्ञाको उल्लंघन गरेको छ । यसअघि पनि गाउँपालिकाले निषेधाज्ञाकै समयमा छैठौ गाउँसभाको आयोजना गरेको थियो । निषेधाज्ञाको उल्लंघन गरेर गाउँसभा गरेको भन्दै अध्यक्ष विजय कुमार चौरसियाको व्यापक आलोचना भएको थियो । उनले कोरोना संक्रमण नियन्त्रणका लागि खर्च अनुमोदन गर्नका लागि सभाको आयोजना स्वास्थ्य मापदण्डको पालना गरेर गरेको स्पष्टीकरण दिएका थिए ।

निषेधज्ञाको समयमा सामाजिक कार्य विवाह, मृत्यु संस्कार लगायतका काममा मात्रै २५ जना भन्दा बढी संख्यामा उपस्थिति हुन नपाउने डीसीसीएमसीको निर्णय रहेको छ । त्यसको लागि पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यावस्था गरेको छ । तर, पकाहामैनपुर गाउँपालिकाकाले गरेको गाउँसभाको भने प्रमुख जिल्ला अधिकारीलाई नै जानकारी छैन ।

यसअघिको गाउँसभाको बारेमा पनि जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र पर्साका संयोजक प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी नपाएको बताउनु भएको थियो । गाउँपालिकाले फेरी दोश्रो पटक सातौ गाउँसभाको आयोजना गरेको छ । यो पटक पनि जानकारी नभएको बताउनु भएको छ । उहाँले निषेधाज्ञालाई खुकुलो बनाएर १२ बजेसम्म पसलहरु मात्रै खोल्न दिने र मोटरसाईकललाई पनि आवश्यक काममा जानेलाई नरोक्ने भनेर सहजीकरण गरेको तर, भेला, सभा, सम्मेलनको लागि भने कुनै छुट नगरेको बताउनुभयो ।

उहाँले गाउँसभाको विषयमा आफुले बुझेर बताउने प्रतिक्रिया दिनुभयो । लामो समयसम्म निषेधज्ञा गर्दा गरिब विपन्नहरुलाई भने छाक टार्न समेत समस्या भईरहेको अवस्थामा नीति निर्माण तहमा बस्ने र कानून कार्यान्वयन गराउने तहमा बसेकाहरुले नै निषेधाज्ञको उल्लंघन गरेपछि नेपालको कानून सानालाई ऐन ठूलालाई चैन भने जस्तै भएको छ ।