वीरगन्जमा जारी क्रिकेट लिगमा क्लिन्स स्पोर्ट्स र युनाईटेड विजयी
वीरगन्ज, २ फागुन । वीरगन्जमा मंगलबारदेखि शुरु भएको क्रिकेट लिग प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड क्लब र क्लिन्स स्पोर्टस विजयी भएको छ । नारायणी क्रिकेट मैदानमा भएको खेलमा नेशनल इन्फोटेकलाई ४ विकेटले पराजित गर्दै युनाइटेडले विजयी सुरुवात गरेको हो ।
टस जितेर व्याटिङ गरेको नेशनल इन्फोटेकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय रनमै समेटिन पुग्यो । १०१ रनको लक्ष्यका साथ मैदान उत्रिएको युनाइटेड १७ ओभर ३ बल खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । युनाइटेडको जितमा सुरज पटेलले ३९ रनको योगदान दिए भने सन्तोष कार्कीले २४ रन जोडेका थिए ।
यस्तै दोस्रो खेलमा किन्लिस स्पोर्टस विजयी भएको छ । वीरगञ्ज क्रिकेट ट्रेनिङ सेन्टरलाई ६ विकेटले पराजित गर्दै किन्लिसले विजयी यात्रा तय गरेको हो । टस जितेर व्याटिङ थालेको वीरगञ्ज क्रिकेट ट्रेनिङ सेन्टर १२ ओभर ३ बल खेल्दै ५२ रन बनाएर अलआउट हुन पुग्यो । ५३ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको किन्लिसले ११ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
चन्दन रामले लिएको ४ विकेट क्लिन्सका लागि जित तय गर्ने बाटो खुल्यो । प्रतियोगिता अन्तर्गत भोली पनि २ खेल हुने आयोजक पर्सा क्रिकेट संघका अध्यक्ष मुर्तुजा अहमदले जानकारी दिनुभयो । पर्सा क्रिकेट संघको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नु भएको थियो ।
उदघाटन गर्नुहुँदै खेल क्षेत्रको विकासका लागि महानगर सहयोग गर्न सदैब तयार रहेको बताउनुभयो । उहाँले वीरगञ्जको पहिचान देशभर र विदेशमा समेत फैलाउने गरी आफ्नो प्रदर्शन देखाउन खेलाडीहरुलाई आग्रह पनि गर्नुभयो । ९ गते सम्म चल्ने प्रतियोगितामा वीरगञ्जका विभिन्न ८ वटा टोलीले सहभागिता जनाएका छन् ।