संविधानसभा अध्यक्ष सुवाष नेम्वाङको निधन, शीर्ष नेताहरु महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा
वीरगन्ज, २६ भदौ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । मंगलबार बिहान सवा १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकहरुले २ः३० नेम्वाङको निधन भएको घोषणा गरेको थियो ।
नेम्वाङको निधनको खबरपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरे लगायतका शीर्ष नेताहरु शिक्षण अस्पताल पुगेका छन् । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दुईदिन पार्टी कार्यालयमा राख्ने भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि बुधबार सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आउनु भएको थियो । उहाँ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत हुनुहुन्थ्यो ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनु भएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा प्रवेश गर्नुभएको थियो । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल समेन पर्नुभएको थियो । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत हुनुभएको थियो ।
२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आउनुभएको थियो ।
उहाँ जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बन्नुभएको थियो । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत हुनुभएको थियो ।