प्रदेश नम्बर २ मा ३१ देखि ४० बर्ष उमेर समूहका बढी संक्रमित

प्रदेश नम्बर २ मा ३१ देखि ४० बर्ष उमेर समूहका बढी संक्रमित

वीरगन्ज, २६ बैशाख । कोरोना भाईरस संक्रमण (कोभिड–१९) को दोश्रो लहरमा संक्रमित हुनेहरु बढी युवा समूहका रहेका छन् । नयाँ भेरियन्टको भाईरसबाट प्रदेश २ मा ३१ बर्षदेखि ४० बर्ष उमेर समूहका व्यक्तिहरु बढी संक्रमित भएको पाईएको छ । प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३१ देखि ४० बर्ष उमेर समूहका १५०१ जना संक्रमित भएका छन् ।

यो कूल संक्रमित संख्याको २५.२० प्रतिशत हो । संक्रमित मध्य ११२४ जना पुरुष र ३७७ जना महिला रहेका छन् । बैशाख १ गतेदेखि बैशाख २६ गतेसम्मको तथ्यांक अनुसार २१ देखि ३० बर्ष उमेर समूहका १४८७ जना रहेका छन् । यो कूल संक्रमितको २४.९६ प्रतिशत हो । कोरोना भाईरस संक्रमणका कारण अर्थतन्त्रको सन्तुलन बिग्रिएको अवस्थामा युवा समूह नै संक्रमित हुनु मुलुकको लागि चिन्ताको विषय छ ।

युवा जनशक्ति नै आर्थिक क्रियाकलापमा बढी सक्रिय हुने भएकोले यो समूह संक्रमित भएपछि देशको आर्थिक क्रियाकलापमा लाग्ने जनशक्ति कम हुने र उत्पादनमा समेत प्रभाव पर्ने भएकोले देशको आर्थिक सन्तुलनमा थप असर पर्ने देखिएको छ । त्यस्तै १७.९८ प्रतिशत ४१ देखि ५० बर्ष उमेर समूहको संक्रमित संख्या रहेको छ । यो उमेर समूहमा कूल संक्रमित मध्य १०७१ जना संक्रमित भएका छ ।

यो समूह पनि आयआर्जन र आर्थिक क्रियाकलापमा सक्रिय रहने समूह नै हो । बेरोजगारीको समस्या झेल्दै आएको यो समूह अहिले कोरोना भाईरस संक्रमणका कारण देशभर जारी लकडाउनमा घर मै बसेका छन् । रोजगारीका सिलसिलामा देश बाहिर गएकाहरु प्नि फर्किएर अहिले घरमै बसेका छन् । कृषि, पर्यटन, उद्योग लगायत अन्य क्षेत्रमा समेत अधिक सहभागिता रहेको युवाहरु नै अहिले दोश्रो लहरको कोरोना संक्रमण परेका छन् ।

५९५६ कूल संक्रमित मध्य जन्मिएदेखि १० बर्ष उमेर समूहका १०२ जना, ११ बर्षदेखि २० बर्ष उमैर समूहका ३२५ जना, ५१ देखि ६० बर्ष उमेर समूहका ८०४ जना संक्रमित भएका छन् । त्यस्तै ६१ देखि ७० बर्ष उमेर समूहका ४३८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी ७१ देखि ८० बर्ष उमेर समूहका संक्रमितहरु १४५ छन् भने ८० बर्ष भन्दा माथिका संक्रमितहरुको संख्या ३३ जना रहेका छन् ।