पर्साका संक्रमित ३९ जना थुनुवा मध्य ९ जना कोरोना मुक्त
वीरगन्ज, २७ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा रहेका ३९ जना थुनुवा संक्रमित मध्य ९ जना संक्रमण मुक्त भएका छन् । ५ जना प्रहरी र ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्य ९ जना थुनुवाको दोश्रो पटकको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई वडा प्रहरी कार्यालय श्रीपुर र वीर्तामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयको थुनाकक्षमा रहेका ७९ जना थुनुवा मध्य ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ९ जना थुनुवा कोरोना मुक्त भएपछि अब ३० जना थुनुवालाई जिल्ला प्रहरी कार्यालय परिसरमै आईशोलेसन बनाएर राखिएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो । उनीहरुलाई नियमित औषधि र पौष्टिक तत्व सहितको भोजनको व्यावस्था गरिएको उहाँले बताउनुभयो ।
संक्रमित पाँचजना प्रहरी मध्य एकजनाको नेशनल मेडिकल कलेजको बाबा कोभिड अस्पतालमा, तीनजनाको विपद प्रदेश २ प्रहरीको व्यावस्थापन केन्द्रमा र एकजनाको होम आईशोलेसनमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।