पर्सामा बिहानैदेखि मतदान जारी, मतदानकेन्द्रमा सञ्चारकर्मीहरुलाई प्रवेश निषेध 

पर्सामा बिहानैदेखि मतदान जारी, मतदानकेन्द्रमा सञ्चारकर्मीहरुलाई प्रवेश निषेध 

वीरगन्ज, ३० बैशाख । स्थानीय तह निर्वाचन २०७९ को शुक्रबार बिहानैदेखि देशभर मतदाना शुरु भएको छ । मतदानामा मतदाताहरुको उत्साजनक उपस्थिति रहेको छ ।

अहिलेसम्म छिटफुट बाहेक सबैठाउँमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । वीरगन्जको आदर्शनगर स्थित बालमन्दिर मतदान केन्द्रमा केहीबेर विवाद भएको छ ।

जसपाका कार्यकर्ताहरुले छाता वितरण गर्दै भोट मागेको भन्दै अन्य उम्मेदवारहरुले विरोध गरेपछि विवाद भएको हो । छाता वितरण गरिरहेको अवस्थामा प्रहरीले छाता नियन्त्रणमा लिएको छ ।

अन्य मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा नै मतदान भईरहेका छन् । मतदानकेन्द्र भित्र सञ्चारकर्मीहरुलाई भने प्रवेश निषेध गरेको छ ।

वीरगन्जको विभिन्न स्थानमा स्थापना गरिएको मतदान केन्द्रहरुमा सुरक्षाका लागि खटिएको सुरक्षाकर्मीहरुले सञ्चारकर्मीहरुलाई मुख्य प्रवेशद्वाराबाट नै भित्र जान निषेध गरेको छ ।

आम नागरिकलाई सूसुचित गराउन सञ्चारकर्मीहरुको लागि सवारी सञ्चालनको अनुमति पत्र वितरण गरिएपनि सूचना संकलनका लागि मतदान अधिकृत बस्ने स्थानसम्म पुग्नलाई पनि रोक लगाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृतसम्म पुग्नलाई रोक नलगाईएको भएपनि सुरक्षाकर्मीहरुले भने मतदान अधिकृत भएको ठाउँसम्म पनि सञ्चारकर्मीहरुलाई जान नदिएको सञ्चारकर्मीहरुले गुनासो गरेका छन् ।

यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग समेत जानकारी लिँदा आफूहरुलाई पनि जानकारी नभएको बताएको सञ्चारकर्मीहरुको भनाई छ ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पनि आफूलाई सञ्चारकर्मीहरुले यस्तो गुनासो गरेको बताउदै यस विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयकी प्रमुख रञ्जिता झाले भने मतदान अधिकृतसम्म पुग्न सञ्चारकर्मीहरुलाई कुनै रोक नलगाएको बताउनुभयो । उहाँले मतपेटिक स्थलसम्म भने मोबाईल, क्यामेरा लगायतका सामग्रीहरु लिएर जान नमिल्ने बताउनुभयो ।