वीरगन्ज महानगरपालिका र कृषि सामग्री कम्पनीबीच सहमतिपछि मल ढुवानी सुचारु 

वीरगन्ज महानगरपालिका र कृषि सामग्री कम्पनीबीच सहमतिपछि मल ढुवानी सुचारु 

वीरगन्ज, ३० साउन । महानगरपालिकाले नियन्त्रणमा लिएको कृषि सामग्री कम्पनीको मल छोडेको छ । महानगरपालिका र कृषि सामग्री कम्पती प्रादेशिक कार्यालय वीरगन्जबीच चार बुँदे सहमतिपछि महानगरपालिकाले मल छोडिदिएको हो ।

महानगरपालिकामा सोमबार भएको छलफलमा वीरगञ्ज महानगरपालिकाले थप १० हजार बोरा युरिया मल पाउने सहमतिपछि आफूले कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको महानगरपालिकाले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाले आइतबार कृषि सामग्री कम्पनीको ४ ट्रक मल नियन्त्रणमा लिएको थियो । सोमबार वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार ४ बुँदे सहमति भएको छ ।

वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै साता उपलब्ध गराउने सहमति भएपछि महानगरपालिकाले नियन्त्रणमा लिएको मल छोडिएको र ढुवानी सुचारु भएको हो । यस्तै कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल वीरगञ्जलाई उपलब्ध गराउने सहमति पनि भएको छ ।