आदिवासी जनजाति पत्रकार महासंघ (फोनिजको) २२ औं स्थापना दिवस मनाईदै
वीरगन्ज, २७ साउन । आज साउन २७ गते अर्थात नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २२ औँ स्थापना दिवस (फोनिज डे) मनाईदै छ। फोनिजका महासचिव मनोज घर्ती मगरले कोरोना भाइरस महामारीका कारण गतवर्ष र यो वर्षको फोनिज डे विगतवर्षमा जस्तो हर्षोल्लासमय हुन नसकेको र प्रतिकूल परिस्थितिकाबीच स्वास्थ्य मापदण्डअनुसार फोनिज डे मनाइने र २३ औं स्थापना दिवस विगतका बर्षहरु जस्तो हुनेमा आशा व्यक्त गर्नुभएको छ ।
फोनिजको विशिष्ट पहिचान, उद्देश्य र योजनाहरु रहेको र धेरै पुरा भएको तथा धेरै बाँकी रहेको बताउदै अविच्छिन्न उत्तराधिकारवाला संगठन भएकाले विभिन्न कालखण्डका नेतृत्वहरूलाई फोनिजको उद्देश्य कार्यान्वयनको जिम्मेवारी रहने पनि बताउनु भएको छ । संगठनको नेतृत्वमा रहँदा र रहिरहने अवस्थामा कुनै पनि व्यक्तिगत स्वार्थ नभएको र नरहने बताउदै साझा प्रयास, साझा भावना र साझा उद्देश्यले स्थापित फोनिजको नेतृत्व पनि साझा रूपमा हुदै आएको स्पष्ट पार्नुभयो ।
समस्याहरूलाई पनि साझा रूपमै निरूपण गरिदै आएको बताउदै आगामी दिनमा पनि सोही अनुरुप गरिने उहाँको भनाई छ । संविधान प्रदत्त समानुपातिक समावेशीको व्यवस्थाको रक्षा र कार्यान्वयनमा पुनस्एकपटक सञ्चार क्षेत्रबाट दृढ्ताकाका साथ लागिपर्नुपर्ने बेला आएको भन्दै महासचिव घर्ती मगरले फोनिजको उद्देश्य पुरा गर्न र विभिन्न चुनौतिको सामना गर्न सहमति, सहकार्य, भावनात्मक एकताका साथ अगाडि बढ्न पनि आग्रह गर्नुभएको छ ।